कोरोना भाइरसको खतरा विश्वभरि घुम्दैछ । भारतमा यो भाइरसको संक्रमण लगातार बढिरहेको छ । सेलिब्रेटीहरु लकडाउनको समयमा परिवारसँग समय विताइरहेका छन् । उनीहरु लगातार यो महामारीलाई लिएर मानिसमा सचेतना फैलाउने कोशिश गरिरहेका छन् । हालै बलिउडका दबंग उर्फ सलमान खानले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो पोस्ट गरेका छन् ।
यो भिडियोमा सलमान आफ्नो भतिज (सोहेल खानको छोरा) निर्वानसँग देखिएका छन् । भिडियोमा सलमान र निर्वानले गएको तीन हप्तादेखि आफ्नो पितासँग नभेटेको र निकै डराएको बताएका छन् । सलमानले भिडियोमा भनेका छन्, ‘हामी यहाँ केही दिनका लागि आएका थियौं तर अब हामी यही छौं । हामी निकै डराएका छौं । तीन हप्तादेखि पितालाई पनि भेट्न पाएको छैन ।’
सलमान खान अगाडि भन्छन्, ‘एउटा फिल्मी डाइलग छ- ‘जो डराउँछ सम्झ ऊ मर्यो ।’ तर, यो डाइलग यहाँ लागू हुँदैन । हामी डराएका छौं र निकै बहादुरीपूर्वक भन्छौं कि हामी डरायौं । तपाईंहरु धेरै बहादुर नबन्नुस् । जो डराउँछ सम्झ ऊ बाँच्छ र उसले धेरैलाई बचाउँछ पनि ।’ सलमान खानको यो भिडियोमा हजारौंले कमेन्ट गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।


