गोरखा समाचारदाता
काठमाण्डौं – अहिले सामाजिक सञ्जालमा कोरोना भाइरसलाई जोडेर एक घटना व्यापक रुपमा फैलिरहेको छ ।
अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लिबर पक्राउ परेको भन्दै केही सञ्चारमाध्यमले समेत खबर सम्प्रेषण गरेका छन् ।
उनले कोरोना भाइरस बनाएर चीनलाई बेचेका कारण पक्राउ गरिएको भनेर समेत लेखिएको छ । तर नझुक्किनुहोस्, प्रोफेसर डा.चार्ल्स पक्राउ पर्नु कोरोना भाइरससँग सम्बन्धित नै छैन ।
प्रोफेसर चार्ल्सलाई जासुसी तथा संवेदनशील जानकारी चीनलाई पठाएको आरोपमा पक्राउ गरिएको हो । डा.चार्ल्सले गत जनावरीमा अमेरिकीले चीनबाट प्राप्त गरेको कोषलाई “एक झुटो तथा काल्पनिक बयान” दिएको समेत आरोप लागेको छ । जसका कारण उनी पक्राउ परेका हुन् ।
डा.चार्ल्स अमेरिकामा पक्राउ परेको साँचो हो तर सामाजिक सञ्जालमा फैलिएको जस्तो कोरोना भाइरस बनाएको आरोपमा भने होइन ।


