काठमाडौं– लोकप्रिय अभिनेता तथा व्यंग्यकार जीतु नेपाल यतिबेला तनावमा छन् । उनको वास्तविक फेसबुक एकान्टमा भएका प्रोफाइल पिक्चर तथा कभर फोटो हुबहु नक्कल गरेर कसैले उनको नक्कली फेसबुक एकान्ट बनाइदिएको छ–जीतु नेपाल मुद्रे नाममा ।
उक्त नक्कली फेसबुकको वालमा विश्वास गर्न मिल्ने, नमिल्ने हरेक शैलीका समाचारका लिंकहरु शेयर हुन थालेपछि जीतुको तनाव बढेको हो । जीतुले अहिले साँझ एउटा स्टाटस लेख्दै भनेका छन्- ‘मेरो ओरिजिनल फेसबुक एकाउन्ट केवल Jitu Nepal मात्र हो । यो मेरो फोटो र Jitu Nepal Mudre भनेर फेक एकाउन्ट खोलेर विभिन्न गतीबिधी गरिरहेको रहेछ ।’ जीतुले आफ्नो नामको नक्कली एकाउन्ट खोल्ने व्यक्तिलाई तुरुन्त उक्त कार्य रोक्न आग्रह गरेका छन् ।
जीतले लेखेका छन् -‘जसले यो काम गरेको हो, कृपया तुरुन्त बन्द गर्न अनुरोध गर्दछु । यदि नमानेर अँटेर गरेमा तुरुन्त साईवर क्राईममा गएर उजुरी गर्नेछु । यसरी अरुको नाममा फेसबुक खोलेर बदनामी गर्ने काम बन्द गर्न अनुरोध गर्दछु । साथै मेरा सम्पुर्ण दर्शक,सुभ चिन्तक तथा साथीहरु न झुक्किन हुन अनुरोध गर्दछु।’



