गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले लकडाउनको समय एक साता थप गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई बैशाख तीन गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसमा लकडाउनको अवधि आठ दिन अर्थात बैशाख ३ गतेसम्म बढाउने निर्णय गरेको हो ।
बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
सरकारले एकै पटक लामो समयसम्म समय थप गर्नुभन्दा पनि एक–एक साता गरेर लकडाउनको समय थप गर्ने नीति लिएको देखिन्छ ।
सरकारले दोस्रोपटक लागू गरेको लकडाउनको अवधि भोलि दुई साता पूरा हुँदैछ । सरकारले पहिलोपल्ट चैत ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो ।
त्यस्तै कोरोना जोखिम थप नहोस् भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्मका लागि लकडाउन थप गरेको थियो ।


