काठमाण्डौं – महावीर पुनले देशभरिका अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्दा डाक्टर सुरक्षित बस्ने ‘बुथ’ बनाउन थालेका छन् ।
उनले काठमाण्डौंको वीर अस्पताल, पाटन अस्पताल र पोखराको गण्डकी अस्पतालमा तीन वटा त्यस्ता नमूना बुथ बनाइसकेका छन् ।
सिसाले घेरिएका बुथभित्र डाक्टर बस्ने, हात छिराउन बनाइएका प्वालबाट डाक्टरका पञ्जा लगाएका हात निकालेर बाहिर रहेको बिरामीको परीक्षण गर्न मिल्ने गरी बुथ डिजाइन गरिएको छ ।
यस्तो बुथबाट उपचार गर्दा डाक्टरका लागि पीपीई आवश्यक नपर्ने पुनको भनाइ छ ।
पुनका अनुसार अहिले देशभरिका अस्पतालमा कोरोना उपचारका लागि त्यस्ता बुथहरू बनाउने कार्य जारी रहेको छ ।
काठमाडौं र पोखराका अतिरिक्त उर्लाबारी, इटहरी, धरान, बिराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, कञ्चनपुर लगायतका अस्पतालमा यस्ता बुथ बनाइरहेको पुनले जानकारी दिए ।


