राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि अन्तत: जापान आपतकाल घोषणा गर्ने मनस्थितिमा पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री सिन्जो आबे भोलि (अप्रिल ७ गते) आपतकालको घोषणा गर्ने तयारीमा जुटेका छन् । जापानको राजधानी टोकियोमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री आबे आपतकाल घोषणा गर्न तयार भएका हुन् । कोरोनाको संक्रमण नियन्त्रण गर्ने अनेकाैँ उपायहरु प्रभाकारी नभएपछि प्रधानमन्त्री आबेलाइ स्थानीय सकारहरुले समेत आपतकाल घोषणा गर्न दबाब दिँदै आइरहेका थिए ।
आपतकाल घोषणाको पूर्वसन्ध्यामा आबेले सल्लाहकार समितिसहित विज्ञहरुको बैठक बोलाएका छन् । आपतकाल घोषणापछि के-के कुरामा कतिसम्म कडाइका साथ जाने भन्ने विषयमा छलफल गर्न लागिएको जापानका सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन् । जापानको माइनिचि पत्रिकाले आफ्नो अनलाइनमा लेखेको समाचार अनुसार टोकियोसहित नजिकै पर्ने साइतामा, चिबा, खानागावा, ह्योगो प्रफेक्चर सहित होक्काइदो र ओसाका शहर समेतलाई लक्षित गरी आपतकाल घोषणा गर्न लागेका हुन् । जापानमा सबैभन्दा लामो समय देशको नेतृत्व गर्ने प्रधानमन्त्रीले सिन्जो आबे हुन्, यो संगै जापानकाे इतिहासमा नै आपतकाल घोषणा गर्ने पहिलो प्रधानमन्त्री पनि बन्ने छन् ।
कस्ताे रहला प्रभाव ?
आपतकाल घोषणापछि जापानको जनजीवन कस्तो हुन्छ या यसले खास केके कुरामा कस्तो प्रभाव पार्छ भन्ने कुरामा जापानीहरु नै अलमल परेको देखिएको छ । यसअघि यस्तो आपतकाल घोषणाको अनुभव नभएकाले पनि यसले कस्तो प्रभाव पार्छ भन्नेमा अलमल देखिएको हो । कोरोनाको संक्रमणलाइ नियन्त्रण गर्नका लागि मानिसको भीडभाड घटाउन आपतकाल घोषणा गर्न लागिएको हाे । तापनि सार्वजनिक यातायातका साधनहरु के हुन्छन् भन्ने कुरा घोषणापछि मात्रै थाह हुने बताइएकाे छ ।
अवधि कति ?
अधिकारीहरुले आपतकालको अवधि २१ दिनदेखि १ महिनासम्मको हुने बताएका छन् । कतिपय संचार माध्यमहरुले ६ महिनासम्म हुन सक्ने अनुमान गरेका छन् । प्रधानमन्त्री आबेले यसअघि आपतकाल अहिलेको आवश्यकता नभएको प्रतिक्रिया दिएका थिए । जुलाईमा हुने भनिएको ओलम्पिक अर्को वर्ष सरेपछि त्यसले जापानको अर्थतन्त्रमा परेको असर र फेरि आपतकाल घोषणापछि अर्थतन्त्रमा पर्न सक्ने असरको आँकलन गरी सकेसम्म आपतकाल घोषणा नगर्ने प्रधानमन्त्री आबेको जोड थियो । कतिपयले आपतकाल घोषणा गर्ने पहिलो प्रधानमन्त्री बन्न नचाहेकोले अन्तिमसम्म कुरेको चर्चा गर्ने गरेका छन् भने कतिपयले अमेरिकाको प्रभाव समेत भनेका छन् । जापानमा कोरोना संक्रमितको संख्या ४ हजारको हाराहारीमा पुगेको छ भने ९३ जनाको मृत्यु भैसकेको छ ।


