काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२ नमूना परीक्षणमा सबैको रिपोर्टमा संक्रमण नभेटिएको जानकारी दिनुभएको हो । उहाँले हालसम्म १५ सय २९ जनाको नमूना परीक्षण भएको जानकारी दिँदै आइसोलेशनमा भने काठमाडौंमा १२ र बाहिर १ सय १ गरि जम्मा १ सय १३ जना रहेको बताउनुभयो ।
प्रवक्ता देवकोटाले प्रभावित विभिन्न देशबाट आई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिनुभयो ।उहाँले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्को चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै विदेशबाट आएकाहरुलाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह समेत गर्नुभयो ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित हेटौंडा, चितवन, धरान, सुर्खेत, जनकपुर ,पोखरा र धनगढी गरी आठ स्थानबाट नमूना परीक्षण भइरहेको छ । यस्तै, बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीनजनामा संक्रमणको पुष्टि भएको थियो । पहिलो पटक नेपालमा धेरै संख्यामा संक्रमण देखिएको यो पहिलो घटना हो । नेपाल संक्रमणको दोस्रो चरणमा स्थानीय संक्रमणमा प्रवेश गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको क्वारेनटाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्र्ने भएको छ । प्रवक्ता डा.विकास देवकोटाले कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिनुभयो । उहाँले सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिंदै चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा र्यापिड टेष्ट मार्फत् नमूना परीक्षण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


