गोरखा समाचारदाता
वीरगन्ज – आफ्नै घरको सदस्यलाई मारेर जलाउँदै गरेको अवस्थामा पर्सामा तीन अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने सबै एकाघरका सासू ससुरा र देउरानी हुन् ।
उनीहरूले रातिको समयमा बहुदरमाई नगरपालिका–८ की २५ वर्षीया बुहारी उर्मिलादेवी पण्डितलाई हत्या गरी घाटमा लगेर जलाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मृतकका ससुरा करिब ५५ वर्षीय सुरेश पण्डित, सासू ५० वर्षीय फूलकुमारी देवी र देउरानी २३ वर्षीय मालतीदेवी रहेको पर्साका प्रहरी जनाएको छ। परपुरुषसँग सम्बन्ध राखेको बहानामा बुहारीको हत्या गरेकोे प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ ।
कर्तव्य गरी मारेर बिहानीपख घरनजिकैको घाटमा जलाउँदै गरेको अवस्थामा प्रहरीलाई सूचना आएपछि पिछा गर्दै जाँदा मृतकको शरीरको केही भाग जल्न बाँकी रहेको अवस्थामा शव प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ ।
मृतकका श्रीमान् रोजगारीको शिलशिलामा विदेशमा छन । घरमा रहेकी कान्छी बुहारीसँग मिलेर जेठी बुहारीको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
पक्राउ परेका तीनै जना अभियुक्तलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।


