गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको संक्रमित फेला परेका कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टाइनमा रहेका सबैका र्यापिड डायगोनिस्सि टेस्ट आरडीटी प्रविधिबाट परीक्षण गर्न टोली परिचालन गरिएको छ ।
शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो निर्देशन दिएको थियो । त्यस्तै उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनेछ । यसको साथै चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोभिड नाइन्टिन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
आरडीटी परीक्षणपछि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने पनि डा। देवकोटाले जानकारी दिए । विदेशबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईनमा राखिएको थियो । स्वास्थ्य मन्त्रालयले आईतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको जनाएको । कोरोनाको परीक्षण काठमाण्डौ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा पनि भईरहेको छ ।
हालसम्म कोरोनाको आशंकामा काठमाण्डौमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा रहेका छन् भने १ सय ४० जनालाई रेडजोनमा राखिएको छ । नौ जना संक्रमितमध्ये आठ जनाको उपचार भइरहेको छ भने एक उपचारपछि निको भएर घर फर्किएका छन् ।।


