एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अबको दुई सातामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्याले उच्च विन्दु छुने भविष्यवाणी गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकामा दुई साता अरु कठिनाइ हुने भन्दै त्यसका लागि तयार रहन नागरिकहरूलाई सजक पनि गराएका छन् ।
त्यसैगरी राष्ट्रपति ट्रम्प र उनका उच्च तहका स्वास्थ्य सल्लाहकारहरूले कोरोना भाइरसविरुद्धको लडाईंमा अमेरिकी नागरिकहरू सामाजिक दुरीलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । उनले कोरोना भाइरससम्बन्धी सुरक्षात्मक मार्गनर्देशनलाई अप्रिल ३० सम्म लम्ब्याइएको जानकारी पनि दिए ।
पत्रकार भेटघाटमा ह्वाइट हाउसका कोरोना भाइरस संयोजक डेबोरा ब्रिक्सले संक्रमणका कारण अमेरिकामा आउँदा महिनाहरूमा १ देखि २ लाख ४० हजार मानिसहरूको ज्यान जान सक्ने तथ्याकं प्रस्तुत गरेकी थिइन् । पछिल्लो समय अमेरिका कोरोना भाइरसको इपिसेन्टर बनेको छ ।


