कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो । उहाँले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पु–याउन आफ्नो रगत दान गर्नु भएको छ । पिन्क्नीले एसोसिएटेड प्रेसलाई भन्नुभयो, “मेरो रगतमा सायद कोरोनाको उपचारसँग जोडिएका प्रश्नहरुको उत्तर हुन सक्दछ । यो कुरा थाहा पाउँदा मलाई अति खुशी लागेको छ ।”
विश्वभरका चिकित्सकहरूले संक्रामक रोगलाई फैलिन नदिन शताब्दियौं पुरानो उपचार पद्धतिलाई बेवास्ता गरिरहेका छन्ः अर्थात् नयाँ कोरोनाभाइरसलाई परास्त गर्न रक्त प्लाज्माको प्रयोग । हुनत यसले बिरामी व्यक्ति ठीक भइहाल्छ भन्ने कुनै प्रामाणित तथ्य त छैन । तर ह्युस्टन र न्यूयोर्कमा उपचारपछि ठीक भएका धेरै व्यक्तिहरु आफ्नो रगत दान गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । अस्पताल र रक्त केन्द्रहरू पनि यसको नतिजालाई पर्खेर तयारी अवस्थामा बसेका छन् ।
न्यूयोर्कको माउन्ट सिनाई अस्पतालका अध्यक्ष डा डेभिड राइखले भन्नुभयो, “अहिले यो विधिका बारेमा चौतर्फी चासो छ, र मानिसहरु यो विधि अपनाउन भनिरहेका छन् ।” यही अस्पतालमा टिफानीको उपचार गरिएको र निको पनि हुनु भएको थियो ।
“यो रोग लागेपछि मानिसहरु निःसहाय अनुभव गर्दछन् । कतिपयले जीवनको आशा मार्छन् । रक्तदानले अरु हजारौंको जीवन बचाउन सक्ने सम्भावना छ ।” उहाँले भन्नुभयो, “उपचार चलिरहेको बेला, हामी केवल यो आशा गर्छौं कि यसले काम गर्छ ।”
इतिहासका पुस्तकहरूमा “कन्भलेसेन्ट सेरम” भनिने यो प्लाज्मालाई सन् १९१८ को महामारीका दिनहरुमा पनि प्रयोग गरिएको थियो । नयाँ आधुनिक औषधि प्रयोगमा आउनुअघि दादुरा, ब्याक्टेरियल निमोनिया र अरु धेरै किसिमका संक्रमण विरुद्ध पनि यसलाई प्रयोग गरिएको थियो । किन ?
Tiffany Pinckney poses for a portrait in the Harlem neighborhood of New York on April 3, 2020. After a period of quarantine at home separated from her children, she has recovered from COVID-19. Pinckney became one of the nations first donors of “convalescent plasma.” Doctors around the world are dusting off a century-old treatment for infections: Infusions of blood plasma teeming with immune molecules that helped survivors beat the new coronavirus. (AP Photo/Marshall Ritzell)
जब संक्रमणले मानिसलाई आक्रमण गर्न थाल्छ, शरीरले प्राटिनको रुपमा एन्टीबडी उत्पादन गर्दछ र यसले शरीरभित्र प्रवेश गरेका विषाणु विरुद्ध लड्छ । यी एन्टिबडी मानिसको शरीरको रगतमा तैरिरहेको हुन्छ, र विशेषगरी यो प्लाज्मामा रहेको हुन्छ अर्थात् रगतको पहेंलो तरल भाग । यो एन्टिबडी तत्व रगतमा महिनौं, वर्षौंसम्म रहन्छ ।
“जब नयाँ रोगहरू देखा पर्दछन् र वैज्ञानिकहरू खोपहरू वा औषधिहरूको लागि दौडिरहेका हुन्छन् त्यसबखत यो “एक द्रुतगतिको पहिलो उपाय हो जुन हामी चाँडै राख्न सक्छौं,” सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा जेफ्री हेन्डरसनले बताउनुभयो । यस विश्वविद्यालयले प्लाज्माको सम्भावनाका बारेमा देशव्यापी अध्ययनको नेतृत्व गरिरहेको छ । यो “आफैँमा उपचार पक्कै होइन, तर यो रोगको गम्भीरतालाई कम गर्ने एक तरिका हो,” हेन्डरसनले बताउनुभयो । चिकित्सकहरुलाई अद्यापि कोरोनाभाइरसबाट निको भएका व्यक्तिको एन्टिबडीले कहिलेसम्म काम गर्दछ भन्ने थाहा छैन ।
तर अहिलेका लागि, “तिनीहरू सडकमा सबैभन्दा सुरक्षित व्यक्तिहरू हुन्” सियाटलमा ब्लडवर्क नर्थवेस्टका डा रेबेका हेलीले बताउनुभयो । यो संस्थाले रक्तदाताको पहिचान गर्दछ । “हामी उनीहरूबाट एन्टिबडी प्राप्त गर्न दबाब भने दिँदैनौं ।” गत हप्ता, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले अस्पतालहरूलाई सम्भावित प्लाज्मा प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा निर्देशिका नै जारी गरेको छ । एफडिएले हरियो बत्ती बाल्नासाथ ह्युस्टन मेथोडिष्ट अस्पताल र माउन्ट सिनाई अस्पतालले प्लाज्माको प्रयोगको सम्भावना खोज्न थालेका छन् ।
निराश मानिसहरु आफ्ना बिरामी प्रियजनको जीवन बचाउन रक्तदातालाई अनुरोध गर्दै सामाजिक सञ्जालमा सोध्न थालेका छन् । मिसिगन स्टेट युनिभर्सिटीका अनुसार एक हजारभन्दा बढी व्यक्तिले नेसनल कोविड–१९ कन्भलेसेन्ट प्लाज्मा प्रोजेक्टमा प्लाज्मा दान गर्नेगरी हस्ताक्षर गरेका छन् । प्लाज्मा दान र अनुसन्धानलाई प्रोत्साहित गर्न दर्जनौं अस्पतालहरूले मिलेर उक्त समूह गठन गरिएको हो ।



