गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेललाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दर्ता भएको छ ।
बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले आज पोखरेललाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन ।
उजुरीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस समूहका सञ्चालकलाई समेत कारवाहीको माग गरिएको छ ।
प्रमाण नष्ट हुने भएकाले तत्कालै हिरासतमा लिएर मुद्दा दायर गर्न उजुरीमा माग गरिएको छ ।
बजार मूल्यभन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डमा नपरेका किट खरिद भएको र सेटिङका आधारमा खरिद गरेर भ्रष्टाचार गरेको आरोप लगाएर त्रिपाठीले मुद्दा दर्ता गरेका हुन ।
बुधबार पनि विवेकशील नेपाली दलले अख्तियारमा इमेलबाट उजुरी दर्ता गराएको थियो । सामग्री खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले बुधबार नै सम्झौता रद्द गरिसकेको छ ।
सम्झौता रद्द गर्दा ओम्नी बिजनेस समूहले समयमा सामग्री दिन नसकेको उल्लेख गरिएको छ । अख्तियारले पनि खरिद प्रक्रियाका विषयमा चासो देखाइरहेको छ ।
सोही विषयमा अख्तियारले आजै स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग छलफल गरेको थियो ।


