गोरखा समाचारदाता
गोरखा – चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाँजा बज्ने गर्छन् ।
नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । तीमध्ये गोरखा जिल्लाको गोरखाकाली मन्दिर र मनकामना मन्दिरमा चैते दशैंको आफ्नै विशेष स्थान रहेको छ ।
तर गएको बर्षहरु जस्तै यो बर्ष दुवै मन्दिरमा हर्ष उल्लास र सर्व साधारणले बली दिएर पुजा गर्न भने पाएनन । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै प्रशासनले गोरखाकाली र मनकामना मन्दिरमा सर्व साधारणहरुलाई पुजामा रोक लगाईए पछि यस पटक नित्य पुजा संगै चैते दशैं सम्पन्न भएको छ ।
गोरखकाली मन्दिरमा गोरखा दरर्बार हेरचाह अडले गर्ने नियमित पुजा संगै स्थानिय स्तरमा नै खोजि गरिएका २ रागाँ, २ भेडा, २ कुखुरा, २ बोका र ३ सुगरलाई बलि दिएर पुजा सम्पन्न गरिएको छ ।
गत बर्ष भने चैते दशैंको दिनमा ५ रागाँ, ८ भेडा, ३ सुगुर, २ कुखुरा र ६ वटा बोका कालिको नाममा बलि दिने गरिएको गोरखा दरर्बार हेरचाह अडका पुरातत्व अधिकृत हरिप्रसाद भूषालले बताए । ‘सामान्य ढंगले धार्मिक विधी पुरा गरेर चैतै दशैं सम्पन्न गरयौ’ अधिकृत भूषालले भने ।
यता नेपालकै प्रसिद्व धार्मिक तिर्थ स्थल मनकामना मन्दिरमा पनि सर्व साधारणहरुलाई प्रवेशमा रोक लगाएर नृत्य पुजा र आरती संगै पशु बलि दिएर चैते दशैं सम्पन्न गरीएको मुल पुजारी ईन्सानबहादुर थापाले बताए ।
मनकामना मन्दिरमा भने गत वर्ष जस्तै मातालाई यो बर्ष पनि १ रागो र १ बोकाको बलि दिइएको छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।
असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ ।
एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।
माथिका दुवै तस्विर केही समय अगाडीका हुन




