गोरखा समाचारदाता
धार्चुला – भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५६३ जना नेपालीहरुलाई धार्चुलामा क्वारेन्टाइनमा राखिने भएको छ ।
३ दिनदेखि नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाकामा नियमित धर्ना दिदै आएका नेपालीलाई भारतीय पक्षले खाने बस्ने ब्यवस्था मिलाएको थियो ।
नेपाल र भारतबीच अर्को सहमति नभएसम्मका लागि सीमा क्षेत्र आइपुगेका सबै नेपालीलाई क्वारेन्टाइनमा राख्ने सहमति भएको धारचुला (भारत) क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले जानकारी दिए ।
धारचुला क्षेत्रमा ४ स्थान र जौलजिबीको १ स्थान गरी नेपालीलाई ५ स्थानमा राखिने छ । धारचुला क्षेत्रमा रहेको मिनि स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौशाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीको व्यवस्थापन गरिएको हो ।
तत्कालका लागि भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालमा नेपालीलाई राखिने छ । दार्चुलामा रहेका भारतीहरुको व्यवस्थापन नेपालले गर्ने सहमति भएको छ ।
सोमबार महाकाली नदीमा पौडी खेलेर भारतबाट आएका १ जनासहित ३ जनालाई सबन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिने भएको छ ।
पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ५६३ नेपाली ४ दिनदेखि दार्चुला सीमामा अलपत्र परेका थिए । उनीहरुले महाकाली किनारामा नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।




















