एजेन्सी ( सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डा.गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार ज्यान गएको सीएनएनले जनाएको छ । ‘डाक्टर गूडरिच हाम्रो अस्पतालका नक्षत्र थिए, हामी उनलाई कहिल्यै बिर्सन सक्दैनौँ,’ मोन्टेफियोरे मेडिसिनका सीईओ डा.फिलिप ओ ओजुआले भने ।
सन् २०१६ को अक्टोबर १४ मा डा.गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसन पनि जेडन र एनियसलाई अलग गरेका थिए। मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए । जेडन र एनियस को शारीरिक विकास एउटै क्रममा भइरहेको बताइन्छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार जेडनले पिक्चर बुकहरु पढ्न थालेका छन् । उनले ‘माई’, ‘हि’, ‘शि’ लगायतका शब्द उच्चारण गर्न सक्ने भएका छन् । साथै उनी वाकरको सहायतमा हिँड्ने पनि गर्छन् । उनको तुलनमा एनियसमा भने पछिल्लो समय केही समस्या देखिएको छ । उनलाई विशेष प्रकारको ह्विलचेयरको व्यवस्था गरिएको छ । उनको चाल र बोलीमा भने केही समस्या देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डा.गूडरिचले ब्रोंक्स अस्पतालमा पेडियाट्रिक न्यूरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताए । त्यस्तै अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा पनि उनले लामो समय न्यूरोलोजिकल सर्जरी, पेडियाट्रिक्स तथा प्लास्टिक सर्जरीका विषयमा प्राध्यापन गरेका थिए ।
अस्पतालका अनुसार उनी ओरेगनका स्थायी बासिन्दा थिए । साथै भियतनाम युद्धका बेला उनी अमेरिकी जलसेनामा पनि आबद्ध भएको अस्पतालले जनाएको छ । उनको श्रीमती र ३ छोरी रहेका छन् ।
पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिले भइरहेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ३ हजार एक १७० पुगेको छ भने १ लाख ६४ हजार २६६ जना संक्रमित भएका छन्।


