गोरखा समाचारदाता
चितवन – भरतपुर महानगरपालिका ४ लंकू धारापानी चोकनजिक रहेको सरस फूड इन्ड्रस्ट्रिजमा मंगलबार बिहान आगलागी भएको छ ।
अनिल अग्रवालले सञ्चालन गरेको सो उद्योगमा दालमोठ, बदाम, फुरनदाना लगायतका खाद्य सामग्री उत्पादन हुन्थ्यो । स्थानीय रघुनाथ सापकोटाका अनुसार बिहान पाँच बजेतिर उद्योग क्षेत्रबाट धुँवाको मुश्लो निस्केको थियो । आकासमा फैलिएको सो मुश्लो टाढा टाढाबाट पनि देखिन्थ्यो ।
भरतपुर महानगरपालिकाका दुईवटा, खैरहनी नगरपालिका, नवलपुरको कावासोती नगरपालिका र नेपाली सेनाको एक–एकवटा गरी पाँचवटा दमकल तथा एउटा डोजर परिचालन गरेर बिहान नौ बजे आगलागी नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । आगलागीका कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।
‘लकडाउनका कारण उद्योग अहिले सञ्चालनमा थिएन । उद्योग मालिकले बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने बताएका छन् । कारण यो पनि हुन सक्छ, अरु पनि हुन सक्छ । हामी अनुसन्धानमा नै छौं,’ डीएसपी कोइरालाले भने ।
आगलागीबाट तयारी सामग्री र बदाम, दाल, बेसनजस्ता कच्चा सामग्रीहरुका साथै तेल पनि नष्ट भएको छ । मुचुल्का उठाउने काम भइरहेका आगोले पुर्याएको नोक्सानीको आकलन भइनसकेको उनले बताए ।



