- २ तरकारी पसल बन्द गर्न निर्देशन र १ सवारीलाई जिल्ला नफर्कने गरी छाडीयो
गोरखा समाचारदाता
गोरखा – कोरोना भाइरस (कोडिभ–१९) का कारण नेपाल पुरै लकडाउन छ । यही अवस्थामा केही ब्यापारीले कालो बजारी गर्ने भन्दै गोरखा नगरपालिकाले अत्यवश्यकीय खाद्य बस्तुको अनुगमनलाई तिव्रता दिएको छ ।
त्यसै क्रममा मंगलबार बिहानै नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ सहितको टोली बजारमा अनुगमनमा निस्कियो । टोलीलाई भारतीय बजारबाट सिधै गोरखामा सडेगलेका तरकारी बजारमा बिक्री भएको भन्ने सूचना प्राप्त भयो ।
टोलीले बिहानै कालीमाटी बजार, पुरानो बसपार्क, नयाँबजार र घ्याम्पेशाल बसपार्कमा वरपर रहेको ११ तरकारी पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा नयाँ बजारमा पसल दर्ता नगरी सञ्चालन गरेको २ वटा तरकारी पसललाई तत्कालै बन्द गर्न निर्देशन दिदै दुवै पसलका ढक र तराजु नियन्त्रणमा लिएको छ ।
त्यस्तै गरी अनुगमन टोलीले गोरखा बजारमा भारतीय बजारको तरकारी बेच्दै गरेको एक सवारीलाई नियन्त्रणमा लिएर भोली देखि बजारमा नआउने सर्तमा जिल्ला बाहिर जान निर्देशन दिएको गोरखा नगरपालिका प्रशासकिय अधिकृत चेतप्रसाद अंगाईले बताए ।
अनुगमनका क्रममा अन्य पसलमा भने स्थानिय स्तरबाट उत्पादित तरकारी नै विक्री भई रहेकाले त्यस्ता तरकारी समेत सस्तो दरमा बिक्री गर्न निर्देशन दिएको छ ।
गोरखा बजारमा अहिले काली प्रति किलो रु ५०, बन्दा ४०, टमाटर १२०, तने बोडी १०० र भन्टा ८० प्रति किलो बिक्री हुदै आएको छ । त्यस्तै गरी मंगलबार नै भारतीय बजारबाट आउने कागती प्रति किलो ३६० मा बिक्री भईरहेको अनुगमन समितिले जानकारी दिएको छ ।
अनुगमनमा उप प्रमुख श्रेष्ठ, प्रशासकिय अधिकृत अंगाई, कृषि शाखा प्रमुख नविन अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली समेत सहभागि रहेको थियो ।





















