पहिलो दिनको उत्साहजनक दर्शक प्रतिक्रियापछि ‘क्वारेन्टाइन अभियान नाट्य उत्सवमा प्रदर्शन गरिने थप नाटक घोषणा भएको छ। जसअनुसार शनिबार साँझ ५ बजे नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’ को भिडियो लाइभ स्ट्रिमिङ गरिएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रंगमञ्च दिवसको सन्दर्भ पारेर शुक्रबार उत्सव सुरु गरिएको थियो। पाकिस्तानी नाटककार साहिद नदिमले लेखेको रंगमञ्च वर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो। थिएटर मलको फेसबुक पेजबाट स्ट्रिमिङ गरिएको नाटक करिब दुई सय ५० दर्शकले नियमित लाइभ हेरेको र करिब १४ हजार रिच भएको फेस्टिभल निर्देशकसमेत रहेका श्रेष्ठले बताए।
‘रंगमञ्चमै उपस्थित भएर हेरेजस्तो अनुभूति नभए पनि दर्शकले भिडियो स्वरूप पनि मन पराएको पायौं’, श्रेष्ठले भने, ‘हेरिसकेको र हेर्न छुटाएका दुवैथरी दर्शकले नाटक हेर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिएका छन्।’ शनिबार प्रस्तुत भएको ‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित छ। एस्थेटिक डान्स सेन्टरको प्रस्तुति रहेको नाटकमा राजेन्द्रराज्यलक्ष्मीको जीवन संघर्षलाई उनी र समकालीन महिलाको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ।
त्यस्तै, आइतबारको तालिकामा परेको नाटक ‘जालिनी’ ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित छ। मण्डला थिएटरको प्रस्तुति रहेको नाटकको परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका हुन् । लोककथा शैलीमा तयार पारिएको नाटकमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई घर वा पर्खालभित्र कैद गरी शासकहरूले कसरी कुसंस्कार निर्माण गर्छन् भन्ने कथा बुनिएको छ। त्यसले वर्तमान समाजमा पारेको प्रभाव र त्यसमाथि गरिनु पर्ने चिन्तनलाई रोचक कथाशैलीमार्फत व्यक्त गरिएको छ।
त्यसैगरी सोमबार कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको नाटक ‘पाँच’ देखाइने छ। शब्द प्रयोग नगरिकन शारीरिक भाषामात्रै प्रयोग गरी तयार पारिएको यो नाटक सुदाम सीकेले निर्देशन गरेका छन्। निर्देशक श्रेष्ठका अनुसार उत्सवमा सिजन दाहालको लेखन र प्रवीण खतिवडाको निर्देशन रहेको लोककथामा आधारित नाटक ‘एक बोली एक दाम’ पनि प्रदर्शन हुनेछ। त्यस्तै कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको आकांक्षा कार्की निर्देशित ‘दयालु रूख’ पनि उत्सवमा सहभागी छ । संगीत सापकोटा र आशिष घिमिरेको निर्देशनमा भरतेन्दु हरिश्चन्द्र लिखित नाटक ‘अन्धेर नगरी चौपट राजा’ र एक्टर्स स्टुडियोको प्रस्तुति रहेको सुरज मल्ल निर्देशित सुरेन्द्र बर्मा लिखित नाटक ‘शकुन्तलाको औंठी’ पनि उत्सवमा सहभागी हुँदैछ।
विदेशबाट पनि नाटकहरू उत्सवमा सहभागी हुँदैछन्। यसै क्रममा डेनमार्कबाट ‘पपेट प्ले’ सहभागी हुँदैछ भने भारतबाट नाटक शब्दविहीन नाटक ‘नोथिङ टु से’ प्रदर्शन हुँदैछ। यसैगरी केदार श्रेष्ठ निर्देशित नाटक ‘उपियाँको निबन्ध’ र बालकृष्ण समलिखित तथा चे शंकर निर्देशित नाटक ‘ऊ मरेकी छैन’ पनि उत्सवमा देखाइने निश्चित भइसकेको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले संयुक्त रूपमा आयोजना गरेको भर्चुअल महोत्सव हरेक साँझ ५ बजे थिएटर मलको अफिसियल फेसबुक पेजबाट हेर्न सकिनेछ।


