गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस विरुद्धको अभियानका लागि अत्यावश्यक सामग्री चीनबाट नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयले चार्टर गरेको नेपाल बायुसेवा निगमको विमानमार्फत ति सामग्री विहान गोन्जाओबाट पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
निगमको विमानले १२ दशमलब ६६ टन चिकित्सा सामग्री ल्याएको हो । सरकारले ललितपुरको कृष्ण गल्लीस्थित ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट सवा एक अर्ब रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरी उसले चीनमा संकलन गरेका सामग्री ल्याएको हो ।
१ अर्ब २४ करोड ६८ लाख ४८ हजार नेपाली रुपैयाँ का सामग्रीहरु उक्त कम्पनीमार्फत सरकारले नेपाल ल्याउन लागेको हो । स्वास्थ्य सामग्री गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर लगायत छन् ।
त्यस्तै कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेका छन । उक्त सामाग्री तीन पटकमा नेपाल ल्याउने तयारी छ । बाँकी सामग्री चैत्र २० र २३ गते ल्याउने तयारी छ ।
विमानले चीन सरकार, अलिबाबा, ज्याक मा फाउन्डेशने उपलब्ध गराएका सामग्री पनि ल्याइएको छ । ति सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेष्टमेन्ट ग्रुप र चिनियाँ दूतावासले नेपाललाई सहयोग गरेका हुन् । दुई फाउण्डेसनले ३ करोड १९ लाख १ हजार ६ सय रुपैयाँ बराबरको सामग्री पठाएका हुन् । सिचुवान प्रदेश र चिनियाँ दूतावासले ५४ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएका हुन ।


