गोरखा समाचारदाता
काठमाडौं – देशका विभिन्न स्थानमा आज मेघ गर्जनसहित वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशैभरको मौसम बदली हुनेछ । पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
यसैगरी पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा आज मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार र सोमबार दुई दिन मौसम खुलेको भएता पनि सोमबार साँझ पुनः भारतको उत्तर प्रदेशबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेकाले फेरि वर्षा र हिमपात सुरु भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान बुलेटीन जारी गर्दै देशका केही स्थानहरूमा वर्षा हिमपातको सम्भावना रहेको जनाएको हो । बर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा पनि आज वर्षा हुने सम्भावना रहेको छ ।
काठमाडौंमा मंगलबार राति पनि पानी परेको थियो । मंगलबार राति उपत्यकामा ०.६ मिलिमिटर वर्षा भएको थियो । पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गरेदेखि तराईमा हुस्सु र कुहिरो लाग्न छाडेको छ ।




















