गोरखा समाचारदाता
काठमाण्डौं – इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ ।
उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई हत्याको बदला लिने घोषणा गरेको इरानले अमेरिकालाई चेतावनी दिने उद्देश्यले इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको हो ।
त्यस्तै इरानका रिभोलुसनरी गार्डका प्रमुख हुसैन सलामीले अमेरिकी सहयोग रहेका ठाउँमा आगजनी गर्ने धम्की दिएका छन् । सोलेमानी मारिएपछि आयोजित सभालाई सम्बोधन गर्दै सलामीले यस्तो धम्की दिएका हुन । सलामीले सोलेमानीलाई वीर सहिदको संज्ञा दिएका छन् ।
इरानका प्रमुख अयतोल्लहा अलि खामेनी र शोकरत इरानीहरूले अमेरिकासँग बदला लिने मागलाई समर्थन गर्दै सलामीले यस्तो धम्की दिएका हुन । तेहरानमा आयोजित शोकसभामा समर्थकहरूले कालो लुगा लगाएर सोलेमानीको फोटोसहित प्रदर्शन गरेका थिए ।
उता अमेरिकाले इरानका विदेश मन्त्री मोहम्मद जवद जरिफलाई अमेरिका प्रवेश गर्न भिसा अस्वीकार गरेको छ । बिहीबार हुन लागेको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा भाग लिन न्यूयोर्क जान लागेका जरिफलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव चुलिएको छ ।
इरानले त्यसको बदला लिने घोषणा गरेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्प त्यसो गरेमा इरानमा ठूलो आक्रमण गर्ने चेतावनी दिँदै आएका छन । बढ्दो तनावले ठूलो युद्ध नै निम्तिने चिन्ता अन्र्तराष्ट्रिय समु्दायले गरेको छ ।


