गोरखा समाचारदाता
काठमाडौं – पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले थुनामानै राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई निरन्तरता दिदै उच्च अदालत पाटनले त्यस्तो आदेश गरेको हो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी तथा न्यायाधीश टेकनरायण कुँबरको संयुक्त इजलासले बिहीबार सो आदेश गरेको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले बताए ।
काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । उनलाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा काठमाण्डौं जिल्ला अदातालले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।



