गोरखा समाचारदाता
काठमाण्डौं – सिन्धुपाल्चोकको छ किलो भन्ने स्थानमा आईतबार बिहान ८ः१५ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना घाईते भएका छन ।
खाडीचौर–जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिका–७ मा दोलखाको कालिन्चोकबाट भक्तपुर तर्फ आउदै गरेको बा।४ ख ४४६८ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
मृत्यु हुनेमा ८ जना महिला, ३ जना पुरुष, २ बालक र १ बालिका रहेको बताइएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । अहिले सम्म दोलखा भिमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्रै पहिचान खुलेको छ । अन्यको भने पहिचान हुन बाँकी छ ।
घाइते भएकामध्ये १२ जनाको सिन्धुसदाबहार अस्पताल खाडीचौरमा उपचार भईरहेको छ । गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बसमा करिव ४० यात्रु रहेको अनुमान गरीएको छ । भक्तपुरबाट शनिवार कालिञ्चोक भगवति दर्शनका लागि तिर्थयात्री बोकेर गएको बस फर्कदा दुर्घटना भएको बताइएको छ ।
उद्वारमा शसत्र प्रहरीको १६ नम्बर गणका जवानहरु खटिएका थिए ।



