गोरखा समाचारदाता
मुस्ताङ – चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।
उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।
सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।
बिहीबार रातिदेखि हिउँ पर्न थालेको हो । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् ।




















