गोरखा समाचारदाता
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गदै उच्च हिमाली क्षेत्रमा भारी हिमपात र मध्य पहाडी क्षेत्रमा बर्षा र तराईमा शितलहर चल्न सक्ने जानकारी दिएको छ ।
महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागका स्थानहरुमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
केही दिन देखी पश्चिमी निम्न चापिय प्रणाली सक्रिय बन्दै गएकोले हिमाल, पहाड र तराइ क्षेत्रमा यस्तो समस्या देखिने छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने संम्भावना महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।
शाखाले जारी गरेको सूचनामा देशको पश्चिम क्षेत्रमा हावाहुरी आउने सम्भावना समेत रहेको जनाएको छ । देशको धेरै जसो भू भागमा पूर्ण बदली हुने र पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित वर्षा भइरहेको छ । देशका पश्चिमी भू–भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ ।
महाशाखाले सनिबार र आईतबारको मौषमी विवरण समेत सार्वजानिक गरेको छ । सनिबार देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको जनाएको छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना समेत रहेको जनाएको छ ।
त्यस्तै गरी आईतबार पनि देशको पश्चिमी भु–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू–भागमा हल्का वर्षा हुने संभावना देखाएको छ । आईतबार नै हिमाली भू–भागमाहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।




















