गोरखा समाचारदाता
गोरखा – केही मर्मतका काम भएको भन्दै आज देखी मुग्लिन–नारायणगढ सडक खण्ड २ सातासम्म दिउँसो ४ घण्टा बन्द हुनेभएको छ ।
पहिरो रोक्ने कामको केही काम बाँकी नै भएकोले २ साता दैनिक ११ बजे देखी ३ बजे सम्म सडक बन्द गरी काम गर्न लागेको हो । सवारी साधान रोक्नका लागि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
पहिरो रोकथामका केही काम बाँकी भएकोले सवारी बन्द गरी काम गर्न लागेको मुग्लिन नारायणगढ सडक आयोजनाले जानकारी दिएको छ । यो अवधीमा पहिरो झरी रहने ८ वटा स्थानमा काम हुने छ । आयोजनाका अनुसार पहिरो जान सक्ने पहरोमा तारजाली हाल्ने काम हुने छ ।
आज देखी नारायणगढबाट मुग्लिनतर्फ आउने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिने छन् । यस्तै गरी मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरेनीमा रोकिने छ ।
एम्बुलेन्स र शववाहनलाई भने समन्वय गरी आउन जान दिने ब्यवस्था मिलाईएको छ ।


