गोरखा समाचारदाता
काठमाडौं – किरात समुदायले आज उधौली पर्व मनाउँदै छन् । खेतवारीमा उब्जाएको अन्नवाली इष्टदेवलाई चढाएर खुशीयालीपूर्वक यो पर्व मनाउने परम्परा रहीआएको छ ।
प्रकृतिपूजक मानिने आदिवासी किरात समुदायले हर्षाेल्लासका साथ उद्यौली पर्व मनाउदै छन् । आदिवासी किरात समुदायले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशीयालीमा उधौली पर्र्व मनाउने गर्दछन् । यो पर्वमा पाकेका अन्नबाली आफ्ना देवीदेवतालाई चढाएर न्वागी पुजा गर्ने प्रचलन रहेको छ ।
आदिवासी किराँत समुदाय भित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा लगायतका जातिले आ–आफ्नै संस्कार अनुसार यो पर्व मनाउने गर्दछन् । उधौलीको दिन बिहानै प्रकृतिको पूजा गर्ने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने समय वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ ।
चिसो याम सुरु भएपछि नदी तथा खोलामा पाइने माछा, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा ओरालो (उँधो) न्यानो ठाँउतिर बसाइँ सरेको समयको संकेत गर्दै यो पर्व मनाउने गरिन्छ । किरात समुदायहरुले खेतवारीमा पाकेका अन्नवाली आफ्ना इस्टा देवतालाई चढाएपछि मात्र आफूले खाने गर्दछन् । जसकारण यो पर्वलाई न्वांङ्गी पूजा पनि भन्ने गरिन्छ ।
त्यस्तै यो पर्वलाई आदिवासी समुदाय अन्तर्गतका लिम्बू समुदायले भने चासोक तङ्नाम भन्ने गर्दछन् । चासोकको अवशरमा लिम्बू समुदायका युवायुवतीहरु च्याब्रुङ बजाएर साइनो नलाग्ने युवायुवतीहरु एकआपसमा हात समाएर पालाम गाउदै धान नाच्ने गर्दछन् । पछिल्लो समय यो पर्वलाई एकता र मेलमिलापको रुपमा समेत लिन थालिएको छ ।


