गोरखा समाचारदाता
चितवन – चितवनमा एक मिडीया हासले कलाकार र ब्यवसायीलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा हाँस्य कलाकार राजाराम पौडेल समेत रहेका छन ।
लक्की मिडिया हाउस चितवनले नेपाली सिने तथा कला क्षेत्रका कलाकार र स्थानीय उद्योगी व्यवसायीलाई सम्मान गरेको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा चलचित्र कबड्डी कबड्डी कबड्डी को बिशेष शोमा हाँस्य कलाकार राजाराम पौडेल र वरिष्ठ कलाकार लक्ष्मी गिरीलाई सम्मान गरीएको थियो ।
सम्मानित हुने कलाकारहरुमा चर्चित अभिनेत्री एवं निर्मात्री रोशनी केसी , चर्चित अभिनेत्री बर्षा राउत र रंगपत्रकार बिना श्रेष्ठ रहेकी छिन । युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट ,समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली र साहासिक साइकल अभियन्ता रुक्मिणी सापकोटा समेत कार्यक्रममा सम्मानित भएका थिए । उनीहरुलाई खादा, प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त बन्दै गएको भन्दै नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले बिशेष शो र सम्मान कार्यक्रमको आयोजना गरिएको बताए।
चितवनका युवाउद्यमी तथा समाजसेवी रुबिन रामुदामु बिशिष्ट अतिथि रहेको उत्त कार्यक्रममा राष्ट्रिय कलाकार , स्थानीय उद्योगी व्यवसायी, सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो ।


