नरेन्द्र ढकाल
गोरखा – गोरखाको गण्डकी गाउँपालिकाले गरिब, दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम सुरु गरेको छ ।
प्राविधिक शिक्षा पढ्न चाहने त्यस्ता विद्यार्थीको छनोट गरी हरेक वर्ष ४÷४ जनालाई आबासिय सुबिधा सहित छात्रवृत्ति दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङ जानकारी दिनुभयो । ‘गण्डकी गाउँपालिकाले छात्रवृत्ती मापदण्ड २०७६ स्वीकृत गरेका छौं’, उहाँले भन्नुभयो ‘त्यसैका आधारमा ४ जना भाइबहिनी छनोट भएर पढ्न गइसक्नु भएको छ ।’ गाउँ कार्यपालिकाले कार्यविधि पास गरि कार्यक्रम सुरु गरिएको छ ।
छात्रवृत्तिका लागि दाबेदार विद्यार्थीहरुलाई गणित, विज्ञान र अंग्रेजी बिषयमा ६० पूर्णाङ्कको लिखित परीक्षा उतीर्ण गर्नुपर्ने, २० पूर्णाङ्कको अन्तर्वार्ता उतीर्ण गर्नुपर्ने ब्यबस्था गाउँपालिकाले गरेको छ । एसईईको जिपिएको आधारमा पाँच पूर्णाङ्क प्रदान गरिने पनि अधिकृत गुरुङले बताउनुभयो । अन्तर्वार्तामा गरिबलाई ५ पूर्णाङ्क, सहिद परिबालाई ५ पूर्णाङ्क र अभिभावक बिहिनलाई ५ पूर्णाङ्कमा मूल्याङ्कन गरिने पनि गाउँपालि को मापदण्ड बनाएको छ ।
जसअनुसार यस वर्ष भैरवाश्रम मावि फुजेलका बिशाल श्रेष्ठ (खुल्ला), भद्रकाली मावि भुम्लीचोकका सुबास सुनार (दलित), सुर्योदय मावि घ्याल्चोकका सुमन श्रेष्ठ (जनजाती), र बिजयाभवानी मावि मकैसिङकी सर्मिला चेपाङले (सिमान्तकृत) कोटामा छात्रवृत्ती पाउनुभएको छ । उहाँहरु मध्ये सर्मिलाले पशु विज्ञान र अन्य तिन जनाले सिबिल सव–इन्जिनियर रोजेका छन् । ‘यो पूर्ण निशुल्क छात्रवृत्ती हो यसमा आवास सहित पठनपाठनमा लाग्ने सबै शुल्क गाउँपालिकाले तिरिदिन्छ’ उहाँले भन्नुभयो ‘उहाँहरुलाई कुनै पनि शुल्क लाग्दैन ।’
उक्त कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरिएको छ । यदी उक्त रकमले अपुग भएमा थप गर्ने कार्यपालिकाले निर्णय गरेको छ । ‘यो तिन वर्षै डिप्लोमा अध्ययन गराउने छात्रवृत्ती हो, यस वर्ष हामीलाई १० लाख छुट्याएका छौं, अर्को वर्ष २० लाख छुट्याउँछौ र अन्तिम वर्ष ३० लाख रकम विनियोजन गर्ने योजना छ’ उहाँले भन्नुभयो ‘सोही अनुरुप प्रत्येक वर्ष ४÷४ जना विद्यार्थी पनि थपिदै जानुहुन्छ ।’ छनोटमा परेका विद्यार्थीहरुले देशभरीका जुनसकै प्राविधक शिक्षालयमा गएर पढ्न सक्ने व्यवस्था मिलाइएको छ ।
उनीहरुले पढाई पुरा गरेपछि गाउँपालिकाको सम्बन्धित शाखामा कम्तिमा १ वर्ष काम गर्नुपर्ने प्रावधान बनाइएको छ । यसले गरिब तथा जेहेन्दार विद्यार्थीले पढ्ने अबसर पाउनुका साथै उक्त गाउँपालिकाले आवश्यक जनशक्ति तयार हुने अपेक्षा लिइएको छ । ‘यो कार्यक्रमले गण्डकी गाउँपालिकामा आवश्यक दक्ष प्राविधिक जनशक्तिको उत्पादन हुन्छ,’ गाउँपाकिला अध्यक्ष होमबहादुर रानाले भन्नुभयो ‘उहाँलाई बढी भन्दा बढि अवसर सिर्जना गरी गाउँमा राख्न सकियो भने गाउँपालिकाको बिकास र समृद्धिमा पनि टेवा पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।
गोरखाको दक्षिण तर्फ रहेको उक्त गाउँपालिका अधिकाश जनजाती, दलित र सिमान्तकृत चेपाङहरुको बस्ती छ । तरकारी खेतिका लागि निकै प्रख्यात उक्त गाउँपालिकाले आवश्यक जनशक्ति तयारी गरी थप व्यवसायीक ढङ्गले काम गर्ने योजना बनाएको छ ।


