नरेन्द्र ढकाल
गोरखा – गोरखा अस्पतालले खुलाएको टेण्डर केही युवाले अबरोध गरेपछि स्थगित भएको छ । जिल्ला अस्पताल गोरखाले औषधी खरिदका लागि ९६ लाख, आमा सुरक्षा कार्यक्रमको लागि आवश्यक सामाग्री खरिद २५ लाख र ल्याब एवं एक्सरेको सामाग्री खरिदका लागि १९ लाखको टेण्डर आब्हान गरेको थियो । कार्तिक १६ गते सूचना प्रकाशित भएपछि आवेदन लिने काम पनि सुरु भएको थियो ।
तर अस्पताल आसपासमा औषधी पसल सञ्चालन गर्ने केही युवाहरुको नेतृत्वमा आवेदन दिन आउने अन्य व्यवसायीलाई अवरोध गरेपछि अहिले प्रक्रिया स्थगित भएको छ । ‘गेट बाहिर अनेक कुरा हुँदो रहेछ, आवेदन दिन आउनेलाई हरमटारी देखि नै अबरोध भएको सूचना आयो’ अस्पतालका निमिक्त सुपरिटेण्डेन डा. नबिन थापाले भने ‘त्यसपछि हामीले उक्त प्रक्रिया रद्ध गरी ई टेण्डरमा जाने प्रोसेस सुरु गरेका छौं ।’
आवेदन हाल्न अस्पताल पुगेका व्यवसायीलाई रोकेको आरोपमा प्रहरीले मंसिर १२ गते गोनपा–५ का कृष्ण मल्ल, गोनपा(७ का कृष्ण श्रेष्ठ, गोनपा(६ का रोशन बानियाँ लगायतका ५जना युवाहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक मित्रबन्धु शर्माले जानकारी दिए । चितवनबाट आवेदन हाल्न आएका एक व्यवसायीले उजुरी दिएपनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको श्रोतले दाबी गरेको छ । उनीहरुलाई दिउँसो १२ बजे नियन्त्रणमा लिई सोही दिन राती सम्झाई बुझाई छोडिएको शर्माले बताए ।
उक्त समस्या आएपछि अस्पतालले हालको टेण्डर रद्ध गरी ई टेण्डर प्रक्रिया सुरु गरेको छ । ‘यो काम फार्मेसी अधिकृतको हो तर हामी कहाँ उक्त पद रिक्त छ’ निमिक्त सुपरिटेण्डेन थापाले भने ‘स्टोरमा औषधीको अभाव हुन दिनु भएन जो जानेको हिसाबले टेण्डर आब्हान गरेका हौं ।’ परम्परागत प्रक्रियाको टेण्डर गर्दा समस्या भएपछि अस्पतालका प्रमुख, अस्पताल व्यवस्थापक र लेखापाल लगायतको टोलीले ई टेण्डरका लागि आवश्यक तालिम लिएका छन् ।
सोही अनुरुप केही दिन भित्र पुनः आवेदन खुलाइने निमिक्त सुपरिटेण्डेन थापाले बताए । ‘सात दिन देखि हामी त्यही कुराको तयारीमा लागि रहेका छौं’ उनले भने ‘अब केही दिन भित्र सूचना प्रकासित हुन्छ ।’ अबरोधपछि टेण्डर प्रक्रियामा ढिलाई हुँदा स्टोरमा औषधीको अभाव हुन सक्ने आशंका छ ।
गोरखामा टेण्डर प्रक्रिया अवरोध भएको यो पहिलो घटना होइन् । गत वर्ष पालुङ्टार नगरपालिकामा आवेदन हाल्न पुगेका एक व्यक्ति हातपात समेत भएको थियो । जिल्लाका अधिकाशं सरकारी कार्यालय र स्थानीय तहले ई टेण्डर प्रक्रिया अबलम्वन नर्दा चुल्ठे मुन्द्रे लगाएर छेक्ने क्रम अझै जारी रहेको कपितय व्यवसायीको गुनासो छ ।


