मोहसिन अलि मिया
गोरखा – मुआब्जा पुनरावलोकनका लागि काठमाण्डौमा आवश्यक पहल गर्ने निर्णय भएपछि ६ दिन देखि ठप्प आरुघाट आइतबारबाट खुलेको छ ।
बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट, आर्खेत र धादिङको बिशालनगर, खहेर क्षेत्रको मुआब्जा निर्धारण भएपछि गएको सोमबारबाट आन्दोलन सुरु भएको थियो । ‘पुनरावलोकनका लागि मन्त्रालयमा पहल गर्ने, गृहमा निवेदन दिने लगायतका सहमती भए पछि तत्काल हामीले आन्दोलन स्थगित गरेका छौं’ आन्दोलनको समन्वय गरिरहेका जिल्ला समन्वय समिति गोरखाका सदस्य राजु गुरुङले भने ‘उच्च स्तरमा हुने छलफलले नै अब यो कुराको निर्णय गर्छ ।’
छलफलका लागि दुबै जिल्लाका सरोकारवालाहरु रहेको एक टोली समेत बनाइएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, गोरखा र धादिङका संघिय सांसदहरु, पूर्व सांसद एवं मन्त्रीहरु, प्रदेश सभाका मन्त्री तथा सांसदहरु, सम्बन्धित गाउँपालिकाका अध्यक्षहरु, सो स्थानका वडा अध्यक्षहरु, सरोकार समितिका अध्यक्षहरु, जिल्ला समन्वय समिति गोरखाका सदस्य राजु गुरुङ, धादिङका सदस्य कमलनारायण श्रेष्ठ दुबै जिल्लाका प्रभावितहरुका ३/३ जनाप्रतिनिधि रहेको समिति निर्माण गरिएको छ ।
उक्त समितिले आगामी २४ गते उर्जा मन्त्रालयमा छलफल गर्ने कार्यक्रम छ । ‘पहिलो माग हाम्रो मुआब्जा पुनरावलोकन गर्नु पर्छ भन्ने हो, जग्गाको वर्गिकरण पनि उचित ढङ्गले भएको छैन परिमार्जन गनु र्पछ भन्ने दोश्रो माग छ’ जिल्ला समन्वय समितिका सदस्य गुरुङले भने ‘यदी हाम्रो मागमा सरकार सहमत हुन सकेन भने पनि जग्गा फुकुवाको प्रोसेस सुरु हुन्छ ।’
गत सोमबार गोरखा र धादिङ दुबै जिल्लाका मुआब्जा निर्धारण समितिले छुट्टाछुट्टै रुपमा मुआब्जा घोषणा गरेका थिए । जग्गाको प्रकृति र स्तर हेरी प्रति आना ५० हजार देखि ७ लाख सम्म मुआब्जा दिने निर्णय भएको थियो । उक्त निर्णय प्रति असन्तुष्ट प्रभावितहरुले गोरखाको आरुघाट र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा तालाबन्दी गर्नुका साथै व्यापार व्यवसाय, शिक्षण संस्था, यातायात सबै ठप्प पारेका थिए ।
‘आइतबारबाट यहाँका सबै कार्यालय, व्यापार व्यवसाय, यातायात, शिक्षण संस्था सबै पूर्ववत रुपमा सञ्चालनमाआएका छन’ आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘बन्दको कार्यक्रम स्थगित भएपछि जन जिवन सामान्य भएको छ ।’ गोरखाको दोश्रो व्यापारिक केन्द्र आरुघाट र आसपासको क्षेत्र ६ दिन देखि ठप्प हुँदा मनास्लु पदमार्ग जाने पर्यटक र उत्तरी गोरखाबाट सदरमुकाम झरेका सर्वसाधरण मर्कामा परेका थिए ।
बजार क्षेत्र भनी २०७३ साल देखि थाति राखिएको आरुघाट क्षेत्रको ५३७ र आर्खेतको ७२ गरी कुल ७०९ रोपनी जमिनको गत सोमबार मुआब्जा निर्धारण गरिएको थियो । यस बाहेक अयन्त्रको कुल ४४ हजार ६५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । बाँकी १ हजार ७७० रोपनी मुआब्जा वितरणका लागि सरकारले यस वर्ष १४ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ ।


