गोरखा समारचारदाता
गोरखा – उत्तरी गोरखाको साम्दोमा बालुवा चोरीको आरोपमा कुटपिट हुदा एक जना स्थानियको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार चुमनुब्री गाउँपालिका १ को साम्दोमा निर्माणाधिन गुम्बामा ल्याएको बालुवा चोरी गरेको आरोप लगाउदा भएको कुटपिट बाट स्थानिय ६८ बर्षिय तेजेन दोर्जे लामाको मृत्यु भएको हो । कुटपिट गर्ने स्थानिय निमा दोर्जे लामालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
घटना विवरण अनुसार भाद्र १७ गते दिउसो १ बजे बन्दै गरेको गुम्बामा ल्याएको बालुवा निमाले चोरेको भन्दै तेजेनले आरोप लगाएको थियो । आरोप प्रत्यारोप बिच निमाले दिउसो १ बजे तेजेनलाई एक मुक्का हानेका थिए । पुनः दिउसो ४ बजे तिर बाटोमा भेट भएका उनीहरुलाई तेजेनले निमालाई बालुवा चोर भने पछि रिसको आवेगमा कञ्चटमा एक मुक्का हान्दा घाईते भएका तेजेनको राती आफ्नै घरमा मृत्यु भएको थियो ।
मृत्तक र आरोपीत निमालाई १८ गते हेलिमार्फत आरुघाट झारीएको थियो । मृत्तक तेजेनको बुधबार नै पोष्टमार्टम पछि शव आफन्तलाई बुझाई सकिएको छ भने आरोपित निमालाई जिल्ला प्रहरी कार्यालय गोरखा ल्याएको छ ।
आरोपित निमालाई बिहीबार प्रहरीले गोरखा जिल्ला अदालतबाट ज्यान मुद्वा दर्ता गरी म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।



