गोरखा समाचारदाता
गोरखा – कार्यालय सहयोगी श्याम घिमिरेको मृत्यु प्रकरणका कारण बन्द भएको मनकामना बहिरा मावि मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।
विद्यालयले काज क्रिया खर्च दिने र उनको ठाउँमा श्रीमती शुशिला घिमिरेलाई जागिर दिने लगायतका विभिन्न सहमती भए पछि स्थानीयले विद्यालयमा लगाएको ताल्चा खोल्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए ।
मृत्तक घिमिरेको काज क्रियाका लागि ३ लाख दिने, बहिरा संघ केन्द्र र जिल्लाको पहल एवं स्थानीयको सहयोगमा श्रीमतीको नाममा घिमिरेको आश्रित परिवारका लागि १० लाख सम्मको अश्रय कोष निर्माण लागि पहल गर्ने, विद्यालयको विषयमा लागेका विभिन्नआरोप छानबिन गर्न नगरपालिकाले समिति निर्माण गर्ने लगायतको सहमती भएपछि आफन्तहरु ताला खोल्न सहमत भएका हुन् ।
‘गोरखा नगरपालिकाको मेयर साप, यहाँका वडा अध्यक्षहरु सहित विद्यालय परिवार र हामी पिडित पक्ष छलफलमा जुटेका थियौं’ मृत्तकका आफन्त सुबास घिमिरेले भने ‘बिहान ९ बजे हामी सबै उपस्थित भएर ताला खोलेर पठन पाठन सहज बनाउने सहमती भएको छ ।’
घिमिरेको २०७६ साउन २७ गते विद्यालयबाट फर्कदै गर्दा रहस्यमय रुपमा हत्या भएको थियो । श्रीमती मारेर प्रहरी हिरासतमा रहेका याकुव परियारले उनको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै स्थानीयले आन्दोलन चर्काएका थिए ।
घटनामा विद्यालयको संलग्नता हुन सक्ने भन्दै स्थानीयले ३० गते विद्यालयको प्रशासनमा ताला लगाएका थिए ।
लामो समय विद्यालय बन्द हुँदा त्यहाँको पढाई प्रभावित भएको छ । देशका विभिन्न ठाउँमा रहेका सुस्त श्रवण भएका बाल बालिकाहरुले आवासिय रुपमा पढ्ने मनकामना बहिरा मावि नेपालकै एक नमूना विद्यालय हो ।
विभिन्न सहयोगी निकायको भरमा चलेको उक्त विद्यालयलाई थप व्यवस्थित बनाउने गण्डकी प्रदेशले समेत घोषणा गरिसकेको छ ।



