गाेरखा समाचारदाता
गाेरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे बैठक आज बिहान बस्दै छ । बुधबारको बैठकमा भएका छलपलका विषयलाई बिहीबारको बैठकमा पूर्णता दिइने छ ।
सचिवालय सदस्य माधवकुमार नेपालले दर्ता गराउनुभएको असहमतिपत्रमा कुनै छलफल नभए पछि छलफलका लागी समेत बैठक बस्न लागेकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएन । ‘‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’’ पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराउनु भएको थियो । उहाँले केही निर्णय सच्याउन माग पनि गर्नुभएको थियो ।
प्रवक्त श्रेष्ठले भन्नुभयो, ‘‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन । बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छ । त्यो छलफलको विषय बन्दैन । छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’’
साङ्गठनिक एकताको बाँकी रहेका कामको बारेमा बैठकमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले थप्नुभयो, ‘‘छवटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भयो तर समय अभावका कारण भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।’’



