नरेन्द्र ढकाल/गोरखा
फाल्गुण २८ गते । ऐतिहासिक गोरखा दरबार पुनःर्निमाणका क्रममा फेला परेको प्वाल गोरखनाथ गुफाकै एक भाग रहेको पुरातत्वले दाबी गरेको छ । पुर्व दक्षिण दिशामा रहेको गोरखनाथ गुफा नै दरवारको जग सम्म फैलिएको पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले बताइन् । ‘अहिले जुन कुरा हल्लाको रुपमा फैलिएको छ, त्यसमा सत्यता छैन्, दरर्बारको जगमा भेटिएको प्वाल गोरखनाथ गुफाकै भाग हो ।’ दुई ठुला चट्टानको बिचमा गोरखानाथ गुफा देखि पश्चिम सम्म प्वाल रहेकाले त्यो सबै गुफाकै भाग भएको अध्ययनले पुष्टि भएको हो । ‘गोरखनाथ गुफामा भित्र बालिएको धुपको धुवा उक्त प्वालबाट निस्कन्छ, त्यो सबै गुफा नै हो’ उनले भनिन् । जग खन्ने क्रममा दरबारको पुर्वी भागमा ठुलो भ्वाङ देखिएपछि रोकेर अध्ययन गरिरहेको थियो ।
पुरातत्व विभागका विशेषज्ञ इन्जिनियरहरुको टोलीले बिस्तृत अध्ययन गरी प्रतिवेदन समेत तयार पारे पछि उक्त तथ्य प्रमाणित भएको हो । ‘पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, बरिष्ठ स्टक्चर इन्जिनियर पुरुषोतम डंगोल र म समेतको टोलीले अध्ययन गरेर प्रतिवेदन बनाएर बिभागलाई बुझाउने तयारी गरिरहेका छौं’ भण्डारीले भनिन् । शाह बंशिय इतिहासको उद्गम थलो मानिएको उक्त गोरखा दरबार कहिले बनेको भन्ने एकिन नभए पनि बिक्रम सम्बत १६६६ ताका बनेको किंबदन्ती छ ।
त्यस विचमा गएका ठुला भुकम्प पछि पनि मर्मत वा पुर्नःनिर्माण समेत गरिएको हुन सक्ने कतिपयको आंकलन छ । १९९० सालको भुकम्पबाट क्षति पुगेको उक्त दरबार त्यसबेला पनि मर्मत संभार गरिएको पुरातत्व श्रोत बताउँछ । ‘९० सालको भुकम्पले पनि त्यही क्षति पुगेको देखिन्छ, अहिले पनि त्यही भागमा जमिनको तल सम्म असर देखिएको छ’ भण्डारीले भनिन् । दक्षिण पश्चिम भागमा चट्टान कमजोर देखिएको र भुकम्पले असर गरेको सतहमा रहको कमजोर चट्टान फुटाएर बिशेष प्रकारको प्रविधि मार्फत ढुङ्गा छाप्ने तयारी भै रहेको उनले बताईन् ।
त्यहाँ प्वाल भेटियो भन्ने हल्ला चलेपछि केही दिन रोकिएको काम सुरु भएको छ । तर दक्षिण पश्चिम भागमा काम केन्द्रित रहेको पुरातत्व श्रोतले बताएको छ । ‘गोरखा दरबार चट्टान माथि छ, तर माथिल्लो भागमा केही कमजोर चट्टान देखिएको छ, त्यसलाई निकाल्ने काम गरेका छौ’ भण्डारीले भनिन् ‘हामीले पहरा फुटाउन खोजेका हैनौं, कमसल ढुङ्गा निकालेर सोलिङ गर्न लागेका हौं ।’ उक्त स्थानमा ढुङ्गा र सिलिकन सहितको विशेष खालको केमिकल मिसाएर सोलिङ गने परात्वले बताएको छ ।
केही दिन रोकिएको काम अब धमाधम हुने र तोकिएकै समयमा दरबार पुननिर्माण सक्ने पुरातत्वको लक्ष्य छ । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुनर्निमाण गरिएको हो ।


