- तिन वर्षमा काम सक्ने लक्ष्य
नरेन्दै ढकाल/गोरखा
फाल्गुण २५ गते । बहुचर्चित दरौंदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु भएको छ । जिल्ला सरमुकाममा रहेको पानीको माग थेग्ने उदेश्यले निर्माण गर्न लागिएको उक्त आयोजनाको काम सुरु भएको इन्जिनीयर सुदिप भट्टराई जानकारी दिए । ‘कामका लागि आवश्यक सिमेन्ट,डण्डी बालुवा फिल्डमा पठाउने काम भइरहेको छ, होली मनाउन गएका कामदारहरु पनि फर्किसकेका छन, अब कामलाई निरन्त्रता दिन्छौ’ उनले भने । गोरखा नगरपालिका वडा नम्बर ३ घलाङ भन्दा मुनी पानी संकलन गर्ने ट्याङ्की, शुद्धिकरण गर्ने ट्याङ्की लगायत सरचना निर्माणको काम थालिएको भट्टराईले बताए ।
केही दिन अघिबाट निर्माण सुरु भएको काम होलीका कारण प्रभावित भएको भन्दै उनले अब निरन्त्रता पाउने बताए । ‘म पनि गोरखामै छु, अहिले निर्माण सामाग्री जुटाउने काम भइरहेको छ, अब धमाधम काम हुन्छ ।’ गोरखा (बृहत लिफ्टिङ) खानेपानी उपभोक्ता सस्था र जिल्ला खानेपानी तथा सरसफाई डिभिजनको प्रत्यक्ष निग्ररानीमा काम हुने बताइएको छ । रमन कन्सट्रक्सन काठमाण्डौले निर्माणका लागि इजात पाएको उक्त आयोजना ३ वर्षमा पुरा गरिसक्नु पर्नेछ । ‘हामीलाई कुनै अबरोध भएन उपभोक्त समिति र समूदायले सहयोग गर्नुभयो भने हामी तोकिएको समयमै काम सम्पन्न गर्छौ’ इन्जिीनियर भट्टराईले भने ।
यता गोरखा (बृहत लिफ्टिङ) खानेपानी उपभोक्ता सस्थाले पनि आयोजना निर्माणका लागी आवश्यक सहजीकरण गर्नका लागि तयार रहेको समितिको अध्यक्ष बद्री मास्केले बताए । ‘हामी त काम छिटो गर्नुहोस् भनेर ताकेता दिइरहेका छौं, उपभोक्तका तर्फबाट हाम्रो के÷के सहयोग चाहिन्छ दिन हामी तयार छौं’ उनले भने । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र ठेकेदार समयमै काम सम्पन्न गर्न प्रतिवद्ध भएर लाग्नुपर्ने उनको भनाई छ । हाल जिल्ला सदरमुकाममा खानेपानीको हाहाकार सुरु भइसकेको छ ।
गर्मी मौसम सुरु हुने बित्तिकै पानीको अभाव सुरु भइसेकेको छ । जिल्लामा पानी उपलब्ध गराउँदै आएको पृथ्वीनारायण साना सहरी खानेपानीबाट नियमित पानी आउन छोडेको सर्बसाधरणले गुनासो गरिहेका छन । ‘एक हप्ता भयो हाम्रो घरमा पानी नआएको, पानी नआएर निकै समस्या भएको छ’ जिल्ला सदरमुकामकी भगवती श्रेष्ठले भनिन् । हरेक वर्ष गर्मी एवं सुख्खा याम सुरु हुने बित्तिकै जिल्ला सदरमुकाममा पानीको समस्या सुरु हुने गर्छ । परम्परागत धाराहरुमा पानी भर्नेका लाइन सुरु भएको छ ।
पृथ्वीनारायण साना सहरीले प्रयाप्तमात्रा पानी वितरण गर्न नसके पछि सर्वसाधरण मर्कामा पर्ने गरेको छन् । यस्तो बेला निर्माण हुन लागेको दरौदी लिफ्टिङ समय सम्पन्न गर्नुपर्ने माग धेरै उपभोक्ताहरुको छ ।


