गोरखा समाचारदाता
जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ ले पाहुनाको सत्कार तथा बिदाईमा अब देखि माला प्रयोग गर्ने निर्णय गरेको छ ।
वडा कार्यसमितिको बैठकले अब देखि कार्यलयबाट पाहुनाको सत्कार तथा बिदाई कार्यक्रम खादा, व्याच, दोसल्ला जस्ता बस्तुको सट्टा फूलको माला लगाउने निर्णय गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘अनावश्यक रुपमा खर्च नगरौं, स्थानीय उत्पादनलाई महत्व दिनु पर्छ भनेर हामीले यो निर्णय गरेका हौ’ उनले भने ।
त्यसबाट गाउँको पैसा बाहिर नजाने र वडामा फूल खेतिका आकर्षण बढ्न सक्ने उनको तर्क छ । बैठकले वडाबासीहरुलाई समेत आर्थिक सुशासन पालना गरी वडा कार्यालयको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । हिजो आज विदेशमा बनेका दोसल्ला खादा लगायतका कुरा अतिथि सत्कारको लागि प्रयोग गर्ने क्रम गाउँ/गाउँमा पुगेको छ ।
यसै अनावश्यक ठाउँमा धेरै रकम खर्च हुनुका साथै खर्च भएको रकम विदेशिएको छ । मौलिक परम्परा बोकेका फूलमालाहरु भने हराउँदै गइरहेका छन् ।


