नरेन्द्र ढकाल/गोरखा
फाल्गुण २३ गते । जिल्लाका आधा भन्दा बढि प्रहरी चौकी अहिले सम्म टहरामा छन । भुकम्प गएको ३ वर्ष पुग्न लाग्दा समेत जिल्लाका कुल ३५ वटा प्रहरी युनिट मध्ये १८ वटा टेण्ट र टहरामा चलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिए । ‘अधिकाशं प्रहरी युनिट टहरा र त्रिपाल मै छन्, बस्ने ठाउँ नै छैन, काम गर्न निकै समस्या छ’ उनले भने । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले भत्काएका मध्ये जिल्लाका अधिकाश प्रहरी चौकीको आफ्नो भवन बन्न सकेको छैन् । ती प्रहरी चौकी कतिपय भने भाडाको घरमा छन भने अधिकाशंले अस्थायी टहरा बनाएर सेवा दिइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय पालुङटार, जौवारी, आरुघाट र अन्य केही प्रहरी चौकी गरी १० वटा प्रहरी युनिट अहिले आफ्नै भवनमा छन् । तीनीहरु मध्ये पनि भुकम्पले आंशिक क्षति पनि मर्मत हुन सकेको छैनन् । भुकम्पले भत्काएका मध्ये ७ वटा प्रहरी युनिट हाल निर्माणाधिन अवस्थामा छन् ।‘हामीले शान्ति तथा पुनर्निमाण मन्त्रालयलाई जिल्लाका अबस्था बारेमा बारम्बार जानकारी गराइरहेका छौ, जिल्ला प्रमुख नै गएर लिखित रुपमा पनि आग्रह गर्नुभएको छ’ रिजालले भने ।
टहरामा प्रहरी चौकी हुँदा शान्ति सुरक्षा कायम गर्न तथा हतियार सुरक्षा गर्न समेत हम्मे परेको प्रहरीहरुले गुनासो गरेका छन् । ती चौकीहरुमा प्रकाउ परेका व्यक्तिहरुलाई राख्ने थुनुवा कक्ष समेत नहुँदा रातभर जाग्रम बस्नुपर्ने अबस्था रहेको उनीहरुको भनाई छ । ‘हामीलाई बस्न गारो छ, भवन छैन, आरोपीहरुलाई समातेर हिरासतमा राख्ने ठाउँ छैन्, निकै समस्या छ’ सुलिकोट ४ सौरपानीको सौरपानी प्रहरी चौकीका असैइ ओमनारायण चौधरीले भने । जिल्ला अधिकाश प्रहरी चौकीको अवस्था यस्तै छ ।
विशेषगरी माथिल्लो सिमावर्ती क्षेत्रका प्रहरी चौकीहरुमा अस्थायी रुपमा बस्दा चिसोका कारण निकै समस्या हुने गरेको त्यहाँ कार्यरत प्रहरीहरुको गुनासो छ । निर्माणाधिन अवस्थामा रहेका प्रहरी चौकीहरुको काम पनि सुस्त देखिएको छ । ‘ठेकेदार मार्फत काम हुन्छ, सबै कुरा माथीबाटै गरेको हुन्छ, ठेकेदारले समय मै काम गरिदिदैनन्, त्यहाँ पनि समस्या छ’ डिएसपी रिजालले भने ।
प्रहरीलाई सुबिधा सम्पन्न भवन नहुँदा कार्य सम्पादनमा धेरै समस्या हुने गरेको छ । चौरी तस्करी, जस्ता घटनाहरु बढ्न सक्ने खतरा हुनुका साथै हिरासतमा राखिएको व्यक्ति भाग्न सम्म सक्ने भएको निकै कष्टकर हिसाबले काम गर्नुपरेको प्रहरीहरुको गुनासो छ । जिल्लामा भुकम्प पछिको पुननिर्माणको काम चलिरहेको छ । निजि आबास सँगै, विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सामुदायिक भवनहरु पनि धमाधम बनि रहेका छन् ।
यस्तो बेला जनताको शान्ति सुरक्षाका लागि अत्यावश्यक प्रहरी युनिटहरुको पुननिर्माणलाई पनि प्राथमिकतामा राखेका काम गर्न सरकोवारले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् । जिल्लाका ३५ प्रहरी युनिट मध्ये अधिकाशंको आफ्नै घडेरी छ श्रोत उपलब्ध गराउन सक्ने हो भने प्रहरी चौकी पुननिर्माणको कामले गति लिने उनीहरुको भनाई छ ।


