नरेन्द्र ढकाल/गोरखा
फाल्गुण १४ गते । शंकटासन्न अवस्थामा रहेका झण्डै २०० भुकम्प पिडितले ५० हजार अनुदान पाएका छन् । गरिब, अशाय,अशक्त, अपाङ्गता भएकाहरु व्यक्तिहरु, एकल महिला लगायत व्यक्तिहरुलाई संघ सस्था मार्फत वितरण गरिने उक्त रकम वितरण थालिएको हो । ‘हामीलाई निकै खुसी लागेको छ, उहाँहरुले हाम्रो समस्या देखेर सहयोग गरिदिनुभयो’ अजिरकोट गाउँपालिका वडा नम्बर १ घ्याच्चोक कृष्ण बहादुर गुरुङले भने । केही वर्ष अघि रोजगारको शिलशिलामा छिमेकी मुलुक भारत पुगेका उनी पस्मिना उद्योगमा काम गर्ने क्रममा आफ्नो हात गुमाउन पुगेका थिए ।
शारिरीक रुपमा अपाङ्गता भएका उनले भुकम्प भत्काएको घर बनाउन थालेका छन् । उक्त रकम थप रकम पाएपछि आफूलाई अब केही सहज हुने उनले विश्वास व्यक्त गरे । ‘आफु केही गर्न सक्दिन, घर बनाउन थालेको लथालिङ भइरहेको थियो, अब यो पैसाले काम अगाडी बढाउँछु’ गुरुङले भने । यसै गरी सुलिकोट ४ सौरपानीका भिम प्रसाद ढकालको घर बनाउने काम विचैमा रोकिएको थियो । एकल महिला र आम्दानीको स्रोत नभएका कारण उनले अरुले जस्तो पैसा खर्च गर्न सकिनन् ।
उनलाई थालेको घर पुरा गर्न निकै धौ÷ धौ हुन्छ भन्ने लागेको थियो । अब भने थप रकम पाएपछि घर बन्न भयो भन्दै उनी खुसी भएकी छिन् । ‘धेरै खुसी लागेको छ सर, ३ लाख घर बन्दैन भनेर ठेकदारले कराइराको थियो, आफू सँग थपथाप गर्ने रकम थिएन, अब भने घर बन्छ भन्ने कुरामा आशा लागेको छ’ उनले भनिन् । अजिरकोट १ घ्याच्चोक र सुलिकोट ४ सौरपानीका शंकटासन्न अवस्थामा रहेका भुकम्प पिडितहरुलाई विहीबार छुट्टाछुट्टै कार्यक्रमका विच उक्त सहयोग रकम हस्तान्तर सुरु गरिएको छ ।
राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर हरेराम पराजुलीले उक्त रकम भुकम्प पिडितलाई हस्तान्तरण गरेका हुन् । ‘तपाईहरुलाई घर बनाउन गा¥हो भयो भनेर, प्राधिकरणकै पहलमा हामीले यो सहयोग उपलब्ध गराएका हौं’ पुराजुलीले भने ‘यसको सही सदुपयोग गरी तोकिएको समयमै घर बनाउनुहोला ।’ दुई किस्तामा गरेर २५/२५ हजारका दरले उपलब्ध गराइएको उक्त रकम अक्सफामले सहयोग गरेको हो ।
अक्सफामले साझेदार सस्थाहरु एकिरण नेपाल मार्फत घ्याच्चोकका ९८ र गोरेटो गोरखाले सौरपानीका ८३ लाभग्राहीलाई घर बनाउन प्रयोजनका लागि अनुदान स्वरुप ५० हजार रक वितरण थालिएको आवास अधिकृत विवेक घिमिरेले बताए । उक्त कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर पराजुलीले घर बनाउन नसकेका सबै पिडितलाई रकम थप गर्न पर्ने भएपनि सरकार सँग आवश्यक बजेट नभएकाले संघसस्था मार्फत शकटासन्न अवस्थामा रहेका पिडितहरुलाई मात्र उक्त सहयोग गरिएको स्पष्ट पारेका छन् ।
उनले तोकेको समय भित्र सबै पिडितलाई घर बनाउन आग्रह गर्दै किस्ता वितरणमा केही प्राविधिक समस्या रहेकाले पिडितले दुखः पाएको गुनासा आफूले पनि सुनेको बताए । ‘तपाइहरुले तोकेको समय घर बनाउनुको बिकल्प छैन्, किस्ता लिन दुख पाउनु भएको छ भनेर मैले पनि सुनेको छु के रहेछ बुझेर हल गर्ने प्रयास गर्छु’ उनले भने । देश नयाँ शासन व्यवस्थामा गएको, सरकार हेरफेर रहेको जस्ता विभिन्न कारणहरुले पनि कर्मचारीले कार्यसम्पादन गर्न नसकेको भन्दै उनले अब स्थीर सरकार बनेकाले उक्त कुरा पनि हल हुने विश्वास व्यक्त गरे ।
सोही अवसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीले पिडितलाई उक्त रकमको सही सदुपयोग गर्न आग्रह गरिन् । ‘तपाइँहरु त भाग्यमानी हुनुहुँदो रैछ, जिल्लाका अन्य ठाउँका तपाइजस्तै मानिसहरुले यो सहयोग पाएका छैनन्, यहाँहरुले पाउनुभयो, जसको सही सदुपयोग हुन्छ र समयै घर बन्छ भन्ने मैले विश्वास लिएको छु ।’ घ्याच्चोकमा भएको कार्यक्रमम अजिकोट गाउँपालिका प्रमुख फणिन्द्र धिताल, वडा नम्बर ३ का अध्यक्ष तयाराज गुरुङ, वडा नम्बर १ अध्यक्ष मनु गुरुङ लगायतले पुनःनिर्माणमा भएको प्रगति र आइपरेका समस्या बारे प्राधिकरणका कार्यकारी सदस्य पराजुलीलाई जानकारी गराएका थिए ।
यता सौरपानीमा वडा अध्यक्ष भिमराज गुरुङले किस्ता सिफारिसमा अलमल भइरहेको भन्दै सहजिकरण गरिदिन पराजुली समक्ष आग्रह गरेका थिए । उक्त दुई कार्यक्रममा अक्सफाम मार्फत भइरेहेका कामको बारेमा छुट्टाछुट्टै रुपमा एकिरण नेपालका कार्यक्रम संयोजक तुलसीराज धिताल र गोरेटो गोरखाका कार्यक्रम संयोजक पुरुषोतम ढकालले जानकारी गराएका थिए । दुई किस्तामा वितरण गरिने उक्त रकम पहिलो किस्ता घर निर्माणका लागि आवश्यक सामाग्री खरिद र दोश्रो किस्ता दक्ष जनशक्ति काममा लगाएको प्रमाणित गराए दिने व्यवस्था मिलाइएको छ ।
अक्सफामको कार्यक्षेत्र रहेको जिल्लाका सबै स्थानमा उसका साझेदार सस्थाहरु एकिरण नेपाल, गोरेटो गोरखा र तुसली मेहर युनेस्को क्लव मार्फत शकंटासन्न अवस्थामा रहेका पिडितलाई रकम उपलब्ध गराउने आवास अधिकृत घिमिरेले बताए । सोहीका लागी लाभग्राहीको छनौट भइसकेको उनले बताए ।




















