गोरखा समाचारदाता
प्रदेश नम्बर ४ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेत बोलेको कुरा पुरा गर्न जिल्लाका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री बस्नेतको सम्मानमा जिल्ला प्रशासनमा भएको बधाई तथा स्वागत कार्यक्रममा उनले पोखरा गोष्ठीलाई लक्षित गदै बोलेका कुरा पुरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘अहिले पनि भुकम्प पिडितको गुनासो उस्तै छ, २९ बुँदे घोषणापत्र अनुरुप काम भएका छैनन भन्ने कुरा आइरहेको छ’ प्रदेश नम्बर ४ का प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले भने ‘कर्मचारीको समस्या छ भनेर त्यो कुरा कार्यान्वयन नगर्ने हो भन्न हुदैन थियो ।’ केही समय अघि भएको पोखरा गोष्ठीले भुकम्प पछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउन भन्दै विभिन्न २९ बुँदे घोषणापत्र जारी गरेको थियो ।
इन्जिनियरले किस्ता सिफारिस गरेको ७ दिन भित्र लाभग्राहीको खातामा रकम पठाउन सहमत भएका पनि जिल्लाका सरोकारवालाहरुले उक्त निर्णय कार्यान्वयन गर्न नसकेको प्रति मन्त्री बस्नेतले असुन्तुष्टि व्यक्त गरेका छन् । ‘बोलेको कुरा कार्यान्वयन भएन भने जनताले हामीलाई कति विश्वास गर्छन ? बस्नेतले प्रश्न गरे ‘त्यसकारण हामीले जे बोल्छौ त्यो कुरा कार्यान्वयन गर्न जरुरी छ ।’ जिल्लाको बिकास निर्माणका काममा सन्तोषजनक प्रगती नभएको भन्दै उनले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारवाही गर्न मातहतका कार्यालयलाई निर्देशन समेत दिएका छन् । ‘सडकको अबस्था साह्रै दयनिय छ, जनताले दुखः पाएका छन्, ठेक्का ओगट्ने काम मात्र हुन्छ’ बस्नेतले भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको समसामयिक अवस्था, भुकम्प पछिको पुनःनिर्माण, बिकास निर्माणको अवस्था, विषयगत सरकारी कार्यालयका काम एवं कार्यप्रगती लगायतका बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । ‘नेपालकै एक मात्र गोरखकाली रबर उद्योग बन्द छ, पालुङटारमा औद्यिक क्षेत्र बनाउन चर्चा आएको छ, यस्ता कुरा जोड दिदाँ जिल्लाको बिकासमा टेवा पुग्छ भन्ने हामीलाई लाग्छ’ प्रजिअ बस्नेतले भने ।
मुलक नयाँ संरचनामा राज्य गएपछि जिल्लामा महत्वपुर्ण सरकारी कार्यालयका क्रमागत काम निरन्त्रतामा अनिश्चिता बढेको भन्दै त्यसबारेमा प्रदेश सरकारले अध्ययन गरेर छिटो निर्णय लिन पशु, स्वास्थ्य, शिक्षा, भुसंरक्षण जस्ता विषयगत कार्यालयका प्रमुखहरुले मन्त्री बस्नेतको ध्यानाकर्ष गराएका थिए । प्रदेश सरकारले पुर्णता नपाइसकेकाले सबै कुराहरु अहिले अध्ययनको क्रममा रहेको भन्दै मन्त्री बस्नेतले अब सरकार संसदमा र सरकारमा सबैको बहशमा लैजानले प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले गोरखाकाली मन्दिर फोहोर भएको भन्दै तुरुन्त सरसफाईमा ध्यान दिन प्रमुख जिल्ला अधिकारी मार्फत गोरखा दरबार हेरचाह अड्डाको ध्यानाकर्षण गराएका छन् । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका बस्नेत गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट प्रदेश नम्बर ४ को लागि निर्वार्चित भएका थिए ।


