गोरखा समाचारदाता
फाल्गुण ९ गते । उत्तरी गोरखाका बिरामीले अब उपचार बिनै ज्यान गुमाउनु नपर्ने भएको छ । सो क्षेत्रका बिरामीलाई लक्षित गरी विशेष प्रकारको हेलिकप्टर सुबिधा सञ्चालनमा ल्याइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा एक कार्यक्रम विच मंलगबार उक्त सेवाको सुभारम्भ गरिएको छ । ‘यो एयर लिफ्टिङ सेवा हो, अकाल मृत्युको सिकार हुन बाध्य उत्तरी गोरखाका स्थानीयलाई लक्षित गरी यो सेवा सुरु गरेका हौ’ जिल्ला जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले भने । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत पर्ने साबिकका ४ गाबिसहरु ल्हो, प्रोक, बिही र सामागाउँका बासिन्दाहरुलाई मेडिकल इमर्जेन्सी सहितको हेलिकप्टर सेवा सुरु गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वय र गाप सामुदायिक जागरण समाजसँगको साझेदारीमा माउण्टेन चाईल्ड आइएनसि परियोजनाले आकस्मिक हेलिकप्टर उद्धार सेवा थालेको हो । ‘५ वर्षका लागि एग्रिमेन्ट भएको छ, उहाँहरुले ७५ प्रतिशत खर्च व्यहोर्नु हुनेछ, बिरामीले २५ प्रतिशत मात्र खर्च लाग्छ’ पराजुलीले भने ।
गरिब तथा विपन्न समुदायका मानिसहरुलाई भने सत प्रतिशत छुट हुने बताइएको छ । विशेष खालको उक्त हेलिकप्टरमा बिरामीका लागि सुत्ने बिस्तारा देखि, अत्यावश्यक औषधी र चिकित्सक समेत रहेन व्यवस्था छ । ‘हाम्रा स्वास्थ्य संस्था उपचारार्थ रहेका बिरामीलाई त्यहाँ बाट रिफर गरेपछि हामी उहाँहरुलाई लिन हेलिकप्टर बोलाउँछौ’ जिल्ला स्वास्थ्य प्रमुख पराजुलीले भने ।
आगामी ५ वर्षका लागि १७ करोड अनुमानित आयव्यय सहित सुरु गरिएको उक्त कार्यक्रममा मंगलबार शुभारम्भ गरिएको हो । ‘दुर्घटना, एपेन्डिस्, सुत्केरी व्यथाका कारण वच्चा जन्माउन नक्नु जस्ता गभ्मीर समस्याहरुमा अपरेसन गनुपर्ने अबस्था आएमा त्यस्ता बिरामीको २ घण्टामा उद्धार गर्छौं’ उनले भने । त्यहाँबाट रिफर भएका बिरामीलाई काठमाण्डौ सिटी हस्पिटल लगेर उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
उत्तरी दुर्गम चुमनुब्री र धार्चेका गाउँहरुमा सडक सञ्जाल पुगेको छैन् । निकै बिकट उक्त क्षेत्रमामा उपचार नपाएका कारण वर्षेनी ठुलो संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । विश्वकै १ साहसिक पदमार्ग मनास्लु क्षेत्रमा स्थानीय तथा पर्यटकहरु दुर्घटनामा पर्दा उद्धार गर्न पनि निकै समस्या हुने गरेको छ ।
त्यहाँका महिलाहरुले वच्चा जन्माउन नसक्दा सुत्केरी व्यथाका कारण वर्षेनी ज्यान गुमाइरहेका छन् । ‘हाम्रो उदेश्य भनेको अब कसैले उपचार बिनै मर्नु नपरोस् भन्ने हो, यो सेवाले ठुलो राहत पुग्छ भन्ने विश्वास लिएका छौ’ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गाप सामुदायिकका अध्यक्ष निमा लामा लगायतले एयर लिफ्टिङले सेवाले उक्त क्षेत्रका स्थानीयहरुमा ठुलो राहत मिल्ने बताएका थिए ।




















