गोरखा समाचारदाता
फाल्गुण ३ गते । भूकम्पका कारण पहिरो जाँदा गाउँ नै बिस्तापित भएको केरौंराको बस्ती स्थानान्तरणको अझै टुंगो लागेको छैन् । लामो समय देखि चर्चामा रहेको उक्त बस्ती स्थानान्तरणको प्रयासले पुर्णता पाउन नसक्दा पिडितहरु मर्कामा परेका छन् । ‘कहाँ के गर्ने भन्ने एकिन भइसकेको छैन, विज्ञहरु ल्याएर टुंगो लगाउने प्रयास भइरहेको छ’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका शिवलाल पौडेलले भने ।
त्यसको लागि फागुनको पहिलो हप्ता विज्ञ सहितको प्राधिकरणका उच्च अधिकारी केरौंजा जान तयारी गरेको उनले बताए । ‘कार्यकारी सदस्य डाक्टर हरेराम पराजुली र भुगर्भ विद् धुव्र शर्मा सहितको टोलीलाई लगेर कसरी काम अगाडी बढाउने भन्ने बारेमा टुंगो लगाउछौ’ पौडेलले भने । जिल्लाले निर्णय गर्न नसकेपछि कार्यकारी समितिका सदस्यलाई नै लगेर अन्तिम निर्णय गर्ने तयारी गरिएको हो । केही समय अघि भएको सर्वेक्षणको प्रतिवेदनलाई आधार बनाएर स्थानान्तरणको काम टुग्याउने उनले बताए ।
सोको लागि एक प्राविधिक टोली बुधबार केरौंजा जाने तयारी गरेको छ । उक्त सर्वेक्षण प्रतिवेदनमा ३४८ परिवार पुर्ण रुपले स्थानान्तरण गर्नु पर्ने र बाँकी रहेका ८९ घर परिवारलाई बैकल्पिक व्यवस्था गरेर त्यहीँ राख्न सकिने बताईएको छ । सो बारेमा स्थलगत रुपमा अध्ययन गरिसके पछि निर्णय लिइने पौडेलको भनाई छ । ‘केही स्थानहरु पनि प्रस्ताव भएका छन्, सो बारेमा कार्यकारी सदस्य ज्यूहरुले निर्णय लिनु हुन्छ अनि अधिग्रहण गर्ने की जग्गा किन्ने भन्ने बारेमा पनि एकिन हुन्छ’ उनले भने ।
अहिलेको केरौजा गाउँ भन्दा माथिको दुङ्गान, केरौजा पारीपट्टीको नयाँ डाँडा र केही तल रहेको लामाबेसीं वस्ती स्थानान्तरको सम्भावित स्थानको रुपमा प्रस्ताव गरिएको छ । भुकम्प गएको झण्डै ३३ महिना बिति सक्दा समेत केरौजा लगायतका गाउँ अझै जोखिम छन् । त्यहाँका स्थानीयहरु जोखिम मोलेर बसिरहेका छन् ।
पछिल्लो समय सरकारले भुकम्पबाट अतिप्रभावित भएर अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने बस्तीलाई घडेरी खरिदका लागि २ लाख दिने निर्णय गरेको छ भने एकिकृत बस्ती बिकास गर्ने चाहानेहरुलाई, प्राविधक सहयोग सहित पुर्वाधार बिकासमा थप सहयोग गर्ने स्पष्ट पारेको छ । झण्डै ६ सय घरधुरी रहेको केरौजा गाउँका ८६ घर स्थानान्तरको सुचीमा समावेस गरी सार्ने प्रयास सुरु भएको हो ।
उक्त काम छिटै गति लिने राष्ट्रिय पर्नुःनिर्माण प्राधिकारण जिल्ला समन्वय समितिको सचिवालयले जानकारी दिएको छ ।


