मोहसिन अलि मियाँ/गोरखा
फाल्गुण १ गते । गोरखा बजार क्षेत्रलाइ हर्न निषेधित क्षेत्र बनाइने भएको छ । गोरखा नगरपालिकाको पहलमा बजार क्षेत्रलाई हर्न निषेधित बनाइने भएको हो । ‘अब चाँडै गोरखा बजारमा हर्न बजाउन निषेध गर्दैछौ, अहिले हामी त्यसको आन्तरिक तयारीमा छौ’ नगरप्रमुख राजनराज पन्तले भने ।
केही दिन अघि नगरपालिकाको पहलमा भएको सरोकारवालाहरुको बैठकबाट उक्त निर्णय भएको हो । बैठकमा जिल्ला ट्राफिक कार्यालय, यातायात ब्यवसायी समिती, ढुवानी ब्यवसायी समिती, गोरखा उद्योग बाणिज्य संघ लगायतका सरोकारवालाहरु संयुक्त बैठकले बजार क्षेत्रलाई हर्न निषेधित बनाउने निर्णय गरेको नगरप्रमुख पन्तको भनाई छ । ‘हामी सबै बसेर यस बिषयमा छलफल ग¥यौ, सबैले सहमती पनि जनाउनु भएको छ, अब केही दिन मै हामी कडाईका साथ कार्यान्वयनमा जादैछौ’ ।
बजार क्षेत्रको सतिपिपल देखि खोलखोले र आहालेसम्मको क्षेत्रमा हर्न बजाउन निषेध गर्न लागिएको हो । हाल यस क्षेत्रमा हर्न निषेध अंकित साइनबोर्डहरु राख्ने काम भइरहेको नगरप्रमुख पन्तले बताएका छन् । बोर्ड राख्नका लागि सम्पूर्ण खर्च समेत नगरपालिकाले बेहोरेको उनको भनाई छ ।
बजार क्षेत्रमा हुँदै आएको ध्वनी प्रदुषण नियन्त्रणमा सहयोग पु¥याउनका लागि हर्न निषेध गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । हाल जवारी चालकहरुलाई यस सम्बन्धी जनचेतना दिने काम भइरहेको प्रमुख दयाराम पौडेलले बताएका छन् । ‘ठुला शहरहरुमा त पहिला देखि नै हर्न बजाउन निशेध छ, अब हामी गोरखामा पनि सुरु गर्ने प्रक्रियामा छौ, तयारीका क्रममा अहिले सवारी चालकलाई यसबारे जनचेतना दिइरहेका छौ’ ।
त्यस्तै गोरखा नगरपालिकाले बजार क्षेत्रमा जेब्रा क्रसिङ समेत राख्ने तयारी गरेको छ । पैदाल यात्रुहूरुको भिडभाड हुने करिब ७ स्थानमा नगरपालिकाले जेब्रा क्रसिङ बनाउन लागेको कार्यालयको भनाई छ ।




















