नरेन्द्र ढकाल/गोरखा
माघ २९ गते । सौरपानीका घुन्चोकका नेत्र बहादुर विश्वकर्माले आरनमा भाँडा बनाएर मासिक ३० हजार भन्दा बढि कमाउछन् । सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीको घुन्चोकमा रहेका आरानमा उनले खलाती धुन थालेको ३५ वर्ष भयो । ‘१३ वर्षको हुँदा देखि यो काम गर्न थालेको हुँ’ केही दिन अघि गोरखा समाचारसँग कुराकानी गर्दै उनले भने‘अहिले पनि यहि पेसामा रमाइरहेका छु’ उनी अहिले ४८ वर्ष भए ।
कपालका रौं फाट्फुट्ट फुल्न थालेका छन् । तर पनि उही जोशका साथ नेत्र बहादुर काम गर्छन् । ‘बा बुढो हुनुभयो, दाई पनि काम गर्न नसक्ने हुनुभएको छ, चार जना बस्न पाइयो भने त धेरै कमाउन सकिन्थ्यो जे होस खर्च चलेको छ’ पहिले बालीमा भाँडाकुडा बनाउँदै आएका नेत्र बहादुरको परिवार अहिले ज्यालामा काम गर्न थालेको छ ।
गाउँका केही मानिसहरुको मात्र बालीमा काम गरे पनि वर्ष भरी ज्यालामा भाँडा बनाउने र आसपासका वस्ती स्वम् स्थानिय बजारमा लगेर बच्ने गरेको उनले बताए । उनले कोदालो, कोदाली, हँसिया बन्चरो लगायतका औजारका साथै, तामाको ताउलो, गाग्री, रक्सी बनाउने होन्डा समेत निर्माण गर्छन् । स्याउलाको टहरामा रहेको उनको आरन अहिले फरिएको छ ।
अक्र्सफाम र गोरेटो गोरखाद्धारा सञ्चालित भुकम्प पुनस्थापना तथा पुर्नलाभ कार्यक्रम अन्र्तगत नेत्रबहादुरका आरन निर्माण गरिएको छ । ‘पहिले त आगलागीको ठुलो डर हुन्थ्यो अब त जस्ताको आरन बनेको छ, काम गर्न निकै सजिलो भएको छ’ उनले आफ्नो अनुभव सुनाए । आधुनिक किसिमका औजारहरु प्रयोग गरेर व्यवसायी किसिमले काम गर्ने उनको योजना छ ।
परम्परागत पेसामा आकर्षण घटिरहेका बेला नेत्रबहादुरको परिवारले भने मनग्य आम्दानी गरिरहेको छ ।




















