- पुनःनिर्माणको समिक्षामा जनप्रतिनिधीलाई उपेक्षा
गोरखा समाचारदाता
माघ २९ गते । जनप्रतिनिधीलाई सुइको नदिई आइएनजिओ पैसामा पुनःनिर्माणको समिक्षा गर्न जिल्लाका कार्यालय प्रमुखहरु पोखरा पुगेका छन् । मुलकमा सबै खाले निर्वाचन सम्पन्न भई प्रतिनिधिहरु समेत चुनिई सकेको अवस्थामा पहिले गरी स्वच्छाचारी ढङ्गले कर्मचारी पोखराका तारे होटलमा जम्मा भएका छन् । ‘हामीलाई वेवास्ता गरी पोखरामा बैठक बस्नु आपत्ती जनक छ, जनप्रतिनिधिलार्ई पेलेर जाने कुरा हामीलाई स्वीकार्य छैन्’ जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धितालले भने ।
पुनःनिर्माण प्राधिकरणको आयोजनामा गरिएको बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय अधिकारी नारायण आर्चाय, शहरी आवास तथा भवन डिभिजन प्रमुख रोशन श्रेष्ठ, जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी लगायत पुननिर्माण सँग सम्बन्धित अधिकाशं विषयगत सरकारी कार्यालयका प्रमुखहरु बैठकममा सहभागी भएका छन् ।
बैठकको समिक्षाका लागि मञ्चमा स्थानीय बिकास अधिकारी बसिरहँदा जिल्ला समन्वय समितिका प्रमुख भने जिल्लामै छन् । ‘हामीलाई बोलाएको थिएन, एलडीओ सापले मलाई बोलाएको छ जान्छु भनेर जानुभयो’ जिल्ला समन्य समतिका प्रमुख अशोक कुमार गुरुङले भने । जिल्लामा गर्नुपर्ने बैठक पोखरा लगेर गरिएको प्रति स्थानीय तहका जनप्रतिनिधिहरुले कडा शब्दमा आपत्ती जनाएका छन् ।
गोरखा समाचारसँगको कुराकानीमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भन्छन्, ‘जिल्लाको बैठक पोखरा गर्नु गलत हो, पुनःनिर्माण स्टक होल्डर जनप्रतिनिधीलाई सहभागी गराएर गरिएको बैठकको निर्णय हामीलाई मान्य छैन ।’ मुलकमा लामो समय पछि भएको निर्वाचनले सबै तहमा जनप्रतिनिधी पाएपनि कर्मचारीतन्त्रले स्वीकार्न नसकेको जस्तो देखिएको छ । ‘जनप्रतिनिधीलाई उहाँहरुले स्वीकार्न सक्नु भएको छैन,यस अघि पनि पेलेर जाने थुप्रै प्रयास भएका थिए, यो पनि त्यसैको निरन्त्रता हो’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने ।
भूकम्प पिडितका लागि खर्च गर्न अन्र्तराष्ट्रिय दाताहरुले संकलन गरेको रकम आइएनजिओहरु मार्फत खर्च गरिएको छ । क्याथोलिक रिलिफ सर्भिस सिआरएस, अक्सफाम र केयर नेपालको आर्थिक सहयोगमामा पोखराको बाराही होटलमा आबिसिय सुबिधा सहित कार्यालय प्रमुखहरुलाई राखिएको छ ।
उक्त कुराको आयोजक पुनःनिर्माण प्राधिकरणले खण्डन गरेको छ । जिल्लामा कार्यक्रम गर्दा कार्यालय प्रमुखहरुले समय नदिने गरेको भन्दै गम्भिर विषयमा छलफल गर्नुपर्ने भएकोले पोखरा लगिएको दाबी गरेको छ । ‘यहाँ कार्यक्रम ग¥यो, सरहरु सधै व्यस्त टाइम नदिने, मिटिङको निचोड निकाल्न समेत गा¥हो हुने भएकाले पोखरा लगिएको हो’राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका शिवलाल पौडेलले भने । उक्त कार्यक्रममा खर्च गर्न भनि पुनःनिर्माण प्राधिकरणले ५० हजार रकम पठाएको स्रोतले बताएका छ ।
अन्य रकम जिल्लामा रहेका आइनजिओ र एनजिओसँग मागिएको छ । भुकम्प गएको ३३ महिना सम्म पुनःनिर्माणको कामले गति लिन नसकेको अबस्थामा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु तारे होलटमा मोजमस्ती गरेको भनि सर्बत्र आलोचनाहरु भएका छन् । अहिले सम्म सर्वसाधरण अस्थायी टहरामा छन् । ५० प्रतिशत घर बन्न सकेको छैन् । यस अघि पनि लाखौं खर्च गरेर पोखरामा गरिएको बैठकले केही प्रगती गर्न नसकेन ।


