गोरखा समाचारदाता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले जनताको प्रत्यक्ष संग्लनतामा बिकास निर्माणको काम अगाडी बढाउनु पर्ने बताएका छन् । विरिमकाली खानेपानी तथा सरसफाई समितिको पहिलो साधारण सभाको उद्घाटन उनले अब स्थानीय तहले जनताको चाहना अनुसारको कामलाई जोड दिनुपर्ने बताए । ‘जनताले के चाहेका छन्, र आवश्यकता के छ भन्ने आधारमा योजना छनौट हुनुपर्छ, तब मात्र बिकासले गति लिन्छ’ वाग्लेले भने । मुलुकमा संघिता कार्यान्वयन भइसकेको अबस्थामा अब बिकास निर्माणका कामले तिब्रता लिनुपर्ने उनको भनाई छ । त्यसका लागि स्थानीय तहलाई असिमित अधिकार सँगै बजेट समेत दिईएको वाग्लेल बताए ।
गोरखा नगरपालिका १०, ११ र १२ नम्बर वडाका झण्डै १५ सय घरधुरीले उपभोग गर्ने उक्त आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अध्यक्ष ईश्वर पाण्डेले बताए । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सुरु भएको उक्त आयोजनाको लागत ११ करोड २३ लाख ९८ हजार रुपैयाँ अनुमान गरिएको छ । २०७६÷७७ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य साथ काम अगाडी बढाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रत्न लामिछानेले बताए ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, वडा नम्बर १० का अध्यक्ष देवीबहादुर बस्नेत, ११ का अध्यक्ष रामबहादुर खड्का, जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल, उपभोक्ता तुलसी प्रसाद देवकोटा, पत्रकार महासघंका अध्यक्ष किशोरजंग थापा लगायतको मन्तब्य राखेका थिए । यस्तै योजना आयोगका उपाध्यक्ष वाग्लेले शनिवार नै शहिद लखन गाउँपालिका वडा नम्बर ६ को घैरुङ करङखोला खानेपानी आयोजनाको शिलन्यास गरेका छन । ६ करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाबाट बतासे, ज्यामिस्वाँरा, रानागाउँका करिव चार सय घरधुरी लाभान्बित हुनेछन् ।




















