मोहसिन अलि मियाँ/गोरखा
माघ २५ गते । २०७२ सालमा गएको विनाशकारी भुकम्पले ध्वस्त भएको गोरखा दरबारलाई पुनःनिर्माण गर्न भत्काइएको छ । करिब दुइ महिना समय लगाएर दरबारलाई जगैदेखि भत्काउने काम सम्पन्न भएको हो । दरबारको संरचना भत्काउने कार्य पुरातत्व विभागका विज्ञहरुको रेखदेखमा भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
दरबारको संरचना भत्काइए पछि झ्याल, ढोका तथा बुट्टेदार काठ र टुँडालहरु नम्बर लगाएर सुरक्षित साथ राखिएको हेरचाह अड्डाले जनाएको छ । ‘लगभग भत्काएर सकिएको छ, दरबारका सबै झ्याल, ढोका लगायत काठहरु हामीले नम्बरिङ गरी फर्मले बेरेर साथ राखेका छौ’ अड्डाका नायव सुब्बा रामेश्वर कट्टेलले भने ।
अब केही दिनमा साइत हेरेर हिन्दु परम्परा अनुसार दरबारको जग हाल्ने तयारी भएको कट्टेलको भनाई छ । दरबार पूर्ण रुपमा भत्काइए पछि पुरातत्व बिभाग बाट इन्जिनियर सहित ४ जनाको टोली आएर अवलोकन गरी फर्केका छन् । केहि दिनभित्र विभाग बाटै इन्जिनियर आउने अनि जग खन्ने प्रक्रिया अघि बढ्ने बताइएको छ ।
वि.स. १६८६ मा तत्कालिन राजा रामशाहले निर्माण गरेको सो दरबारको पुनःनिर्माण पश्चात पनि पुरानै स्वरुप र संरचना अनुसारको हुने अड्डाले जनाएको छ । ‘दरबार पुरानै स्वरुपमा हुन्छ, कत्ति पनि फरक हुदैन, सामान पनि उहि अनुसार लगाउदैछौ, दरबारको जस्ताको तस्तै बन्छ’ नायव सुब्बा कट्टेलले भने ।
दरबार भत्काइएको भए पनि नियमित पूजामा भने कुनै बाधा नभएको अड्डाले जनाएको छ । दरबार भत्काउने क्रममा जगमा बिभिन्न अभिलेख कुदिएका बुट्टेदार इट्टाहरु भेटिएको नायव सुब्बा कट्टेलले बताएका छन् । भेटिएका इट्टामा वि.स. १८६३ साल समेत उल्लेख भएको पाइएको छ । दरबार निर्माणमा रड सिमेन्ट प्रयोग हुने छैनन् । दरबारलाई पुरानै स्वरुप र आकारमा बनाउन पुरातत्व विभागले चुनासुर्कीको प्रयोग गरेर गाह्रो लगाउने र इट्टा समेत पहिलेकै आकार र बुट्टामा बनाउने प्रक्रिया अघि बढाइएको दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।
दरबारका पुराना संरचना पनि छुट्टै भण्डारण कक्ष बनाएर सुरक्षित राखिएको छ । ती मध्ये काम लाग्ने सामानहरु पुन:प्रयोग गरिनेछ । पुरानो दरबारका इँट्टा, झिँगटी काठपात लगायतका सामग्री मध्ये आधा जति फेरि प्रयोग गर्न सकिने देखिएको हेरचाह अड्डाका कट्टेल बताउछन् । भण्डारण गरिएको सामाग्रीहरुको सुरक्षाका लागि हाल नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीको थप टोली परिचालन गरिएको छ ।
दरबार पुन:र्निर्माणका लागि पचली शिवा जेभी नामको ठेकेदार कम्पनीसँग ४ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भैसकेको छ । ठेक्का सम्झौता अनुसार काम सुरु भएको साढे दुई वर्षमा दरबार पुन:र्निर्माण सकिसक्नु पर्नेछ ।


