माघ २२, २०७४ गोरखा — ऐतिहासिक गोरखा दरबारको जगसम्मै भत्काइएको छ । विसं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार २०७२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माण गर्न जगैसम्म भत्काइएको हो ।
पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माणका लागि सुरक्षित स्थलमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । ४ करोड ३७ लाख लागतमा दरबारको पुनर्निर्माणका लागि पचलीशिभाको जेभीसँग पुरातत्त्व विभागले ठेक्का सम्झौता गरेको छ । ‘मूल दरबार भत्काएर सकियो, नयाँ दरबार बनाउने ठाउँको माटो परीक्षण गरेपछि साइत हेरेर जग राख्छौं,’ उनले भने ।
दरबार भत्काउने क्रममा जगको पूर्वपट्टिको जमिन कमजोर भेटिएको प्राविधिकहरूले बताए । दरबार रहेको पूर्वपट्टिको जमिनमा छिद्र रहेको अनुमान गरिएको छ । विज्ञ टोली बोलाएर जमिनको नापजाँच गरेपछि पुनर्निर्माण थालिने प्रमुख भुसालले बताए ।
भूकम्पपछि उक्त दरबारको जगबाट पानी छिरेर सँगै रहेको गोरखनाथ गुफामा निस्कने गरेको थियो । ‘जमिनको सतह नै कमजोर रहेको अनुमान गरेका छौं,’ उनले भने, ‘विज्ञ टोली झिकाएर सुझाव लिएपछि मात्रै काम अघि बढाउँछौं ।’
अढाइ दुई वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य रहेको अड्डाले जनाएको छ । ‘पुरानो स्वरूप नबिग्रने गरी हुबहु जीर्णोद्धार गर्न लागिएको हो,’ अड्डाका सुब्बा रामेश्वर कट्टेलले भने, ‘दिगो र मजबुत बनाउने प्रयास हुन्छ ।’ मूल दरबारको पुनर्निर्माण सकेर कालिका मन्दिरको मर्मतसम्भार गरिने उनले बताए ।
दरबार भत्काए पनि यहाँ हुने नियमित पूजा भने नरोकिने कट्टेलको भनाइ छ । ‘पूजा सामान्य प्रभावित हुन्छ तर, कुनै दिन रोकिन दिँदैनौं,’ उनले भने । दरबार भत्काउँदाका काठ, इँटालगायत पुन: प्रयोग गर्न सकिने सामग्री सुरक्षित राखिएको छ । प्रयोग गर्न नमिल्ने सामग्रीको सट्टामा नयाँ निर्माण सामग्री प्रयोग गरिने उनले बताए ।
जगैसम्म भत्काउने क्रममा विसं. १८६३ अभिलेख भएका बुट्टेदार इँटाहरूसमेत भेटिएका छन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि शाह वंशका १० राजाले उक्त दरबारबाट शासन चलाएको इतिहास छ । दुई महिना लगाएर दरबार जगैसम्म भत्काइएको हो । नयाँ बनाउन चारैतिरटेवा पर्खाल दिइएको छ । १९९० को भूकम्पले समेत क्षति नपुगेको दरबारमा २०७२ वैशाखको भूकम्पले जगैसम्म भत्काएको थियो ।
भूकम्पपछि दरबार आसपास ८४ लाख ५६ हजारमा मर्मतसम्भारको काम भइसकेको छ । राम शाह चौतारो, पाहुना घर, सिँढी बाटो, छानाहरू, गोरखनाथ मन्दिर, रोट पाटी र दमै पाटी मर्मतसम्भार गरिएको छ । ‘अहिलेसम्म सानातिना मर्मतसम्भारका टालटुले काम भए,’ उनले भने, ‘अब दरबार नै नयाँ बनाउन लागिएको हो ।
दरबार पुनर्निर्माणमा लापरबाही
अछाम– २०५८ मा माओवादी आक्रमणमा ध्वस्त अछाम दरबारको पुनर्निर्माणमा लापरबाही भएको छ । २०६५ मै काम सुरु भए पनि अहिलेसम्म पूरा नभएको हो । समयमै दरबार पुनर्निर्माण नहुँदा स्थानीय आक्रोशित छन् । ‘दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ,’ स्थानीय दिनेशकुमार स्वाँरले भने, ‘दरबार बनाउँछौं भनेर पटक–पटक अलमल्याएरठग्न पाइँदैन ।’
पछिल्लोपटक भदौ पहिलो साताबाट काम सुरु भएको थियो । काम किन रोकियो भन्नेबारे कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले बताए । ‘काठ ल्याउन प्रशासनले सहजीकरण गरिदिएको हो । अनेक बहाना बनाएर ठेकेदारले नै लापरबाही गरेको देखिन्छ,’ उनले भने । चुनावमा अछाम क्षेत्र २ का उम्मेदवार यज्ञ बोगटीले दरबार पुनर्निर्माण दु्रतगतिमा गरिने एजेन्डा सुनाएका थिए । उनी निर्वाचित पनि भए ।
अहिले उनले नै ठेकेदारको बचाउ गरेको स्थानीयको आरोप छ । तर बोगटीले भने निर्वाचित भएलगत्तै दरबारको काम किन रोकियो भनेर खोजीनिती गरिरहेको बताए । ‘ठेकेदार र सीडीयोलगायत अन्य सरोकारवालासँग संयुक्त रूपमा बसेर काम रोकिएकोबारे जान्न खोजिरहेको छु,’ उनले भने, ‘तर ठेकेदार नै सम्पर्कविहीन भएको र उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी आएको छैन ।’
दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्वीकृत भएको थियो । ५० प्रतिशत काम सम्पन्न गरेको दाबी गर्ने ठेकेदारले कति रकम लगे भन्ने कुनै जानकारी नदिएको जिल्ला समन्वय समिति संयोजक नरबहादुर कुँवरले बताए ।
सहरी विकास डिभिजन क्षेत्रीय कार्यालय डोटीको सहयोगमा काठ उपलब्ध गराइएको थियो । पुनर्निर्माण जिम्मा लिएको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद अहिले प्रशासन र जिल्ला समन्वय समितिको सम्पर्कमा छैनन् । २०५८ फागुन ४ गते राति माओवादीले गरेको सदरमुकाम आक्रमणमा दरबार ध्वस्त भएको थियो । त्यसमा परी प्रजिअ मोहनसिंह खत्रीलगायत १ सय २२ जनाको ज्यान गएको थियो ।
kantipurdaily



