गोरखा समाचारदाता
गोरखाबाट काठमाडौ जादै गरेको माइक्रो बस दुर्घटना भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शहिद लखन गाउँपालिका मनकामना घर भएका अन्दाजी ४० बर्षिय सुजित श्रेष्ठ र सोही स्थानका राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सुजितको घटना स्थल मै र राजकुमारको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । उनिहरु गोरखा उद्योग बाणिज्य संघको अधिवेशनमा भोट हालेर काठमाण्डौ तर्फ गएका थिए । गोरखाबाट काठमाडौँ जाँदै गरेको ना २ ख ८७९० नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ६०१९ नम्बरको ट्रकसँग ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा अजिरकोट गाउँपालिकाका ४ का ५६ बर्षिय शेखरनाथ न्यौपाने, ४० बर्षिय इश्वर वानिया, गोरखा नगरपालिका वडा नम्वर ६ की ४२ बर्षिय अन्जु श्रेष्ठ, शहिद लखन गाउँपालिका ३ का ४५ बर्षिय दिनेश जोशी, ४५ बर्षिय राजन जोशी, र अर्घाखाचीका २३ बर्षिय बिज्ञान पन्थी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी हवलदार कमल विकले जानकारी दिएका छन् ।
दुर्घटनामा घाईते भएका हरुको काठमाण्डौ स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको उनको भनाई छ ।


