नरेन्द्र ढकाल/गोरखा
माघ १८ गते । पछिल्लो समय जिल्लामा सबारी दुर्घटना बढेको छ । यस आर्थिक वर्षको अहिले सम्म मात्र विभिन्न खालका दुघर्टनामा परी १२ जनाले ज्यान गुमाइसकेका छन् । जिल्ला भर भएका १३ दुर्घटनामा १२ जनाको मृत्यु हुनका साथै ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका दिपक सुनारले जानकारी दिए । सडकको अबस्था, सबारी साधनको चाप, इजाजत बिनै सवारी सञ्चालन गर्नु आदि कारणहरुले गर्दा दुर्घटना बढेको हो ।
‘दुर्घटनाका कारणहरु धेरै छन्, सहरी क्षेत्र र ग्रामिण क्षेत्रको दुर्घटनाको कारण पनि फरक छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले भने । सहरी क्षेत्रमा सडक पेटी नहुनु, पैदल यात्रुलाई सबारी नियम बारे जानकारी नहुनु, असिमित गतिमा सबारी साधन चलाउने प्रवृत्ति र सवारी साधनको चाप पनि दुर्घटनाका कारण रहेको सरोकारवालाहरुको भनाई छ । ‘फुटपाथ बनाईएको ठाउँमै गाडी पार्किङ गरिन्छ, त्यो हटाउनु आवश्यक छ, बजार क्षेत्र लागेपछि गति सिमित बनाउनु पर्छ’ हरमटारीकी स्थानीय मिनादेवी श्रेष्ठले भनिन् ।
सहरी क्षेत्रमा रहेका निर्माण व्यवसायीको पसल एवं गोदाम अगाडी लोड अनलोडका कारण लामो समय सम्म सबारी पार्किङ हुदाँ पनि दुर्घटनाको जोखिम बढाएको छ । त्यसको अलवा बजार क्षेत्रमा जथाभावी राखिएका निर्माण सामाग्रीको कारण पनि ट्राफिक व्यवस्थापन समस्या भएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थित हुन नसक्दा पनि जोखिम बढेर गएको छ । ‘बजार क्षेत्रको मुख्य सडकमा पैदल यात्रीका कारण पनि दुर्घटना भएका छन्, यहाँ सडकमा सडक पेटी पनि छैन’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पौडेलले भने ‘सडककै किनारमा हिड्नु पर्दा धेरै दुर्घटनाहरु भएका छन् ।’
यो आर्थिक वर्षको अहिले सम्म भएका १३ दुर्घटना मध्ये आधा भन्दा धेरै अर्थात ७ वटा ट्याक्टर दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । भुकम्पपछि मालबाहक सबारी साधनको सख्या वृद्धि भएसँगै ग्रामिण रुटमा हुने दुर्घटना बढेको देखिन्छ । चालकलाई कम तलब दिए हुने बाहनामा सिकारु ड्राइभर राख्दा ट्याक्टरहरु दुर्घटना हुने क्रम बढि भएको जिल्ला ट्राफिक प्रहरीको भनाई छ ।
‘धेरै तलब दिनुपर्छ भन्ने गलत धारणका कारण लाइसेन्स नभएका चालक राखिदिदाँ पनि दुर्घटना बढेको हो, हामीले चेकजाँचमा कडाई गरिसेका छौ’ ट्राफिक प्रमुख पौडेलले भने । जिल्ला भित्रिने मुख्य सडक आँबुखैरनी, गोरखा सडकको अवस्थाका कारण पनि दुर्घटनाको जोखिम बढेको चालकहरुको गुनासो छ ।
सडकको दुबै तिर पिच खिइएर खाल्डा पर्दा साना खालका दुर्घटना दिनहुँ भइरहेका छन् । ग्रामिण भेगको कच्ची सडकको अबस्था पनि निकै नाजुक भएकोले दुर्घटनाको जोखिम बढेको छ ।


